ललितपुर | नेपाल एपीएफ फुटबल क्लबले जारी ललित स्मृति स्मृति यु-१८ युथ लिगमा फराकिलो जित निकालेको छ ।
सातदोबाटोमास्थित एन्फा कम्प्लेक्सको मैदान बिहिबार भएको पहिलो खेलमा एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबमाथि ७-२ को फराकिलो जित निकालेको हो ।
एपीएफको जितमा साजन योन्जन र सुनिल थिङले समान २-२ गोल गर्दा रोहित गोले, बिबेक पछिमा थारु र किशोर गुरुङले समान १-१ गोल गरे । पराजित आर्मीका लागि रोहित श्रेष्ठले २ गोल फर्काए ।

खेलको ३६औं मिनेटमा साजन योन्जनको गोलमा एपीएफले अग्रता लिएको थियो । ५१औं मिनेटमा रोहित गोलेको गोलमा टोलीको अग्रता दोब्बर भएको थियो ।
किशोरले गुरुङले ६२औं मिनेटमा पुलिसका लागि तेस्रो गोल गरे । ७३औं मिनेटमा सुनिल थिङले गोल गर्दा एपीएफ ४-० ले अघि बढ्यो । मौसम रोकायले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि आर्मी १० खेलाडीमा समेटियो ।

रोहित श्रेष्ठले खेलको ८१औं मिनेटमा आर्मीका लागि गोल फर्काउँदा खेल ४-१ को स्थितिमा आयो । ८७औं मिनेटमा साजनले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिस ५-१ ले अघि बढ्यो । त्यसको दुई मिनेटपछि नै सुनिलले ब्यक्तिगत रुपमा दोस्रो गोल थप्दा खेल ६-१ को स्थितिमा आयो ।
छैटौं गोल गरेको एक मिनेट नबित्दै बिबेकले पछिमा थारुले एपीएफका लागि सातौं गोल गरे । इन्जुरी समयमा आर्मीका रोहितले व्यक्तिगत दोस्रो गोल गरेपनि हार टार्न सकेन ।
जितसँगै एपीएफ २१ खेलबाट ३२ अंक जोडेर अंक तालिकाको छैटौं स्थानमा कायम छ । पराजित आर्मी समान खेलबाट १८ अंकका साथ १०औं स्थानमा छ ।
