काठमाडौं । मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा रिक्त रहेका ८ जना बोर्ड सदस्य नियुक्ति गरेको छ । पुष ८ गते बसेको मन्त्रिषदले बैठकले उक्त निर्णय गरेपनि गोप्य राखिएको थियो ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको प्रस्तावमा मन्त्रिपरिषदले ८ जना सदस्यहरुलाई नियुक्त गरेको हो । राष्ट्रिय खेलकुद विकास ऐन अनुसार ८ जना सदस्य मन्त्रिपरिषदले नियुक्त गर्नसक्ने प्रावधान रहेको छ ।
मन्त्रीपरिषदले नियुक्त गरेको ८ जना सदस्यहरुमा काङ्ग्रेसका र एमालेका चार (चार सदस्य रहेका छन् । जसमा काङ्ग्रेसतर्फ कमलबहादुर अधिकारी, आनन्दकुमार झा, शान्तिकुमारी चौधरी र भानु चन्द रहेका छन् भने एमालेबाट नन्दा बस्याल, सुवर्ण श्रेठ, जगतसिंह धामी र हिमाल श्रेष्ठ रहेका छन् ।
मन्त्रिपरिषदको निर्णयको बारेमा आज सार्वजनिक गरिने भनिएपनि खेलकुदमन्त्री चौधरी नेपालगञ्ज गएका कारणले सार्वजनिक गरिएको थिएन । अहिले पनि राखेपले ८ जना बोर्ड सदस्यको नियुक्तको बारेमा आधिकारिक जानकारी गराएको छैन ।
