डिफेन्डिङ च्याम्पियन तिजोक युवा क्लब (पाँचथर) इलामको माङसेबुङमा जारी १७औं संस्करणको आत्मानन्द गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

माङसेबुङ गाउँपालिका-५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आज बुधबार भएको खेलमा पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब (दार्जिलिङ, भारत) लाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै तिजोक सेमीमा उक्लिएको हो ।

निधारित समयमा दुवै टिमले एक-एक गोलको बराबरी खेलेपछि नतिजा टाइब्रेकरमा धकेलिएको थियो ।

पाँचथरको जितमा रोशन आङदेम्बे, विनोद धमला, मिराक खजुम, जमिन लक्सम र निरज लिङदेले गोल गरे ।दार्जिलिङका सरद मुन्डा, रोमन भुजेल, समीर प्रधान र देवासिङ रोयले गोल गरे ।

खेलको म्यान अफ दी म्याच तिजोककै गोलरक्षक मिराक खजुम घोषित भए । उनले ट्रफी र नगद ५ हजार ७१ रुपैयाँ हात पारे ।

यसअघि पहिलो हाफ बराबरी खेलेका दुवै टोली दोस्रो हाफमा भने थप आक्रमक भएर मैदानमा भिडेका थिए । खेलको ५७औं मिनेटमा सुजन लिम्बूले गोल गर्दै पाहुना टोली (दार्जिलिङ) लाई अग्रता दिलाएका थिए । तर, त्यसको दुई मिनेटपछि ५९औं मिनेटमा ऋतिक आङदेम्बेले गोल गर्दै पाँचथरलाई बरारीमा फर्काए ।

त्यसपछि भने दुवै टोलीले थुप्रै गोल गर्ने अवसर पाएपनि गोल गर्न नसक्दा नतिजा टाइब्रेकरमा पुगेको थियो । योसँगै सेमीफाइनल समीकरण पूरा भएको छ ।

भोलिबाट सेमीफाइनलका खेल हुनेछन् । भोलि बिहीबार हुने पहिलो सेमीफाइनल सिरिजंगा स्पोर्टिङ क्लब (मोरङ) र दूधे युथ क्लब (झापा) बीच हुनेछ ।

मुहिङगुम अङसिमाङ लिङदेन आत्मानन्द ‘सेइङ’को ७१औं जन्मोत्सव तथा मुहिङगुम अ‌सिमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा अवसरमा महासमारोह-२०८१ महासमारोह समितिको आयोजना, आत्मापवित्र खेलकुद समितिको मुख्य संयोजन र युथ अफ माङसेबुङको सह-संयोजनमा खेल जारी छ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७१ रुपैयाँ, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७१ रुपैयाँ, मेडल र प्रमाणपत्र पाउने छ । फाइनल खेल मंसिर १७ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *