साफ महिला च्याम्पियनसिप २०२४ को टिकेटिङ अधिकार माउन्ट एभरेष्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले टेण्डर प्रक्रियामार्फत् ८० लाख रुपियामा लिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले यो साफबाट समग्रमा १ करोड ७ लाख रुपिया कमाउने भएको छ ।

एन्फा कम्प्लेक्स, सातदोबाटोमा मंगलबार भएको टिकेटिङ अधिकार बिक्रीको सम्झौता-पत्रमा एन्फाका महासचिव किरण राई र माउन्ट एभरेष्ट स्पोर्ट्स एन्ड इभेन्ट्सका सीईओ थम्मन भुसालले हस्ताक्षर गरे । एन्फाले एडी रिलिजलाई टेलिभिजन ब्रोडकास्टिङ, मार्केटिङ र डिजिटल अधिकार २५ लाख रुपियामा बिक्री गरिसकेको छ ।

त्यसर्थ, एन्फाले सातौं साफ महिला च्याम्पियनसिपको टिकेटिङ, टेलिभिजन ब्रोडकास्टिङ, मार्केटिङ र डिजिटल अधिकार बिक्रीबाटमात्रै १ करोड ५ लाख रुपिया आर्जन गर्ने भएको छ, जुन छैटौं संस्करणको तुलनामा ४२ लाख बृद्धि भएको हो । काठमाडौंमै दुई वर्षअघि भएको छैटौं संस्करणको टिकेटिङ, ब्रोडकास्टिङ र मार्केटिङ अधिकार एन्फाले हन्ड्रेड स्पोर्ट्स म्यानेजमेन्टलाई ६३ लाख रुपियामा बिक्री गरेको थियो ।

सम्झौतापछि सीईओ भुसालले भने, ‘नेपालमा महिला फुटबल निक्कै लोकप्रिय छ र टिमले पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ । त्यसैले महिला फुटबललाई साथ दिनको लागि यो साफको टिकेटिङ राइट्समा ८० लाख रुपिया लगानी गरिएको हो । यसले नेपाली फुटबललाई व्यावसायिक बाटोमा अगाडि बढाउन सहयोग गर्ने बिश्वास छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *