जर्मनीमा निराजन र इजिकेललाई पदक

२०८१, २९ आश्विन मंगलवार १७:५७

आईसीओ वर्ल्ड कम्ब्याट मार्सल आर्ट्स च्याम्पियन्सिपमा नेपाली खेलाडीले २ स्वर्ण र १ कांस्य गरी ३ पदक जितेका छन् ।

जर्मनीको फ्रेङफर्टमा भएको प्रतियोगितामा निराजन मुक्तानले दोहोरो स्वर्ण जित्दा इजिकेल परियारले कांस्य जितेको नेपाल उमा कुङफु संघका महासचिव भूपेन्द्र गुरुङले जनाएका छन् ।

महासचिव गुरुङका अनुसार निराजनले किक बक्सिङको पुरुष ६० केजीमुनि फाइनलमा इङल्यान्डका खेलाडीलाई पराजित गरी स्वर्ण जिते । त्यसअघि उनले फ्रान्स, जर्मनी र युक्रेनका खेलाडीलाई हराएका थिए । निराजनले अर्को स्वर्ण चाइनिज फम्सको नान् घ्छानमा जितेका हुन् । यो स्पर्धामा निराजनले जर्मनी, युक्रेन, साइप्रस, इङल्यान्ड र स्कोटल्यान्डका खेलाडीलाई पछि पारेका थिए ।

इजिकेलले किक बक्सिङको पुरुष ७०-७५ केजीमा कांस्य हात पारे । इजिकेल सेमिफाइनलमा जर्मनीका खेलाडीसंग पराजित भएका थिए । अघिल्ला चरणमा भाइब बक्सिङ क्लबका प्रशिक्षक समेत रहेका इजिकेलले इङल्यान्ड र स्कोटल्यान्डका खेलाडीलाई पाखा लगाएका थिए ।

इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आईसीओ), जर्मनीको आयोजनामा भएको प्रतियोगितामा विभिन्न ३० राष्ट्रका ७ सय ५ खेलाडीको सहभागिता रहेको आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष समेत रहेका महासचिव गुरुङले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *