काठमाडौंमा आजबाट एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी सुरु हुँदैछ। दुई दिनसम्म हुने प्रतियोगितामा एसियाका १६ देशको सहभागिता रहेको छ।
नेपाल रग्बी संघले बिहिबार पत्रकार सम्मेलन गर्दै पुरुषतर्फ १४ र महिलामा ७ टोलीले प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो।
इरानले भने अन्तिम समयमा आन्तरिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएको छ। पुरुषमा सहभागी टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ।
नेपाल रहेको समूह ‘बी’ मा बहराइन र उज्वेकिस्तान छन्। समूह ‘ए’ मा फिलिपिन्स, पाकिस्तान र जोर्डन, समूह सी’ मा काजाकिस्तान, कतार, साउदी अरबिया र श्रीलंका तथा समूह ‘डि’ मा अफगानिस्तान, भारत, बंगलादेश र चाइनिज ताइपेई रहेका छन्।
महिलातर्फ ७ देशलाई २ समूहमा बाँडिएको छ। समूह ‘ए’ मा नेपालसहित फिलिपिन्स, गुआम र उज्वेकिस्तान तथा समूह ‘बी’ मा भारत, इन्डोनेसिया र श्रीलंका छन् ।
यो प्रतियोगिता २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटका रूपमा समेत रहेको छ।
प्रतियोगिताको पहिलो दिन ३० तथा दोस्रो दिन २० गरी जम्मा ५० खेल हुने छन्। सिनियरस्तरको एसियाली रग्बी नेपालमा पहिलोपटक हुन लागेको हो।
