श्रीलंकाले दोस्रो टि ट्वान्टी आईमा वेस्ट इन्डिजमाथि फराकिलो जित हासिल गरेको छ । वेस्ट इन्डिजको टोली श्रीलंका भ्रमणमा रहेको छ । मंगलवार श्रीलंकाको दाम्बुलामा भएको खेलमा घरेलु टोली ७३ रनको फराकिलो अन्तरले विजयी भएको हो ।
यो जितसँगै घरेलु टोलीले ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो टि ट्वान्टी पाहुना टोलीले ५ विकेटले जितेको थियो ।
घरेलु टोलीले दिएको १ सय ६३ रनको मध्यम लक्ष्य पछ्याएको भ्रमणकारी टोलीले १६.१ ओभरमा अल आउट हुदै ८९ रन बनाउन सक्यो । वेस्ट इन्डिजका लागि कप्तान रोभमन पावेलले १७ बलमा सर्वाधिक २०, अल्जारी जोसेफले १० बलमा १६ तथा शेरफन रादरफोर्डले १६ बलमा १४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

घरेलु टोलीका लागि दुनिथ विलालागेले ३, वानिन्दु हसरंगा, महेश थिक्सेना र चरिथ असालंकाले समान २ तथा मथिशा पथिरानाले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । घरेलु टोलीका लागि ओपनर पथुम निशंकाले ४९ बलमा ९ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ५४, कुशल मेन्डिशले २५ बलमा २६ तथा कुशल परेराले १६ बलमा २४ तथा कमिन्दु मेन्डिसले १४ बलमा १९ रन बनाए ।
पाहुना टोलीका लागि रोमारियो शेफर्डले २ तथा अल्जारी जोसेफ, शेमार जोसेफ र शेमार स्पिगरले समान १ विकेट लिए । दुई टोलीबीचको निर्णायक तथा तेस्रो टि ट्वान्टी बिहीवार रहेको छ ।
