करिब एक वर्षअघि चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको १९ औं एसियाली खेलकुदको करातेमा एरिका गुरुङले नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन् । त्यो रजत एसियाली खेलकुदमा कुनैपनि नेपाली कराते खेलाडीले प्राप्त गरेको हालसम्मकै एक मात्र हो ।
चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममै एसियाली क्षेत्रको करातेको सबैभन्दा ठूलो प्रतियोगिता एसियाली सिनियर करातेको २० औं संस्करण सेप्टेम्बर २० देखि २२ तारिखसम्म हुँदैछ । यही प्रतियोगितामा एरिकासहित ११ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । त्यसका लागि खेलाडीसहित १८ सदस्यीय नेपाली टोली मंगलबार हाङझाव प्रस्थान गर्दैछ ।
एरिकाले १९ औं एसियाली खेलकुदमा सहभागिता जनाएको महिला ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् ।
प्रतियोगितामा विभिन्न तौल समूहमा सहभागी हुने खेलाडीको नामवाली –
पुरुष :
६० केजीमुनि: मिनबहादुर तामाङ
६७ केजीमुनि: सन्तोष श्रेष्ठ
८४ केजीमुनि: मोहम्मद शेखु आलम
८४ केजीमाथि: आशिष श्रेष्ठ
एकल काता: स्वनिम मानन्धर
महिला :
६८ केजीमाथि: एरिका गुरुङ
५५ केजीमुनि: जिया कार्की
६१ केजीमुनि: निरुपा दोङ तामाङ
एकल काता: एलिसा रास्कोटी
टिम काता: एलिसा रास्कोटी मगर, मेघा लिम्बू, टप्पी थापा
टोलीको मुख्य प्रशिक्षकमा १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता कुशल श्रेष्ठ तथा प्रशिक्षकमा १३ औं सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ छन् । १९ औं एसियाली खेलकुदमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका कुशलले एसियाली सिनियर करातेमा पनि सहभागिता जनाइसकेका छन् ।
टिम व्यवस्थापकमा नेपाल कराते महासंघका उपाध्यक्ष मजेन्द्र सिंह तथा आठौं साग (तत्कालीन साफ) को करातेका स्वर्ण विजेता एवं कराते महासंघका सदस्य रवि महर्जन रहेका छन् । एसियाली सिनियर करातेमा नेपाल हालसम्म पदकविहीन छ ।
प्रतियोगिताअघि हाङझावमै असोज २ गते हुने एसियाली कराते महासंघको कोंग्रेसमा सहभागी हुन नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङ पनि टोलीसंगै जाने छन् । प्रतियोगितामा ३१ राष्ट्रका ३ सय ६७ खेलाडीको सहभागिता रहने छ । पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले सोमवार बिदाइ गरे ।

