नेपाल बुद्धिचाल महसंघ (एनसीएफ)ले ४५औं चेस ओलम्पियाड २०२४ को लागि हंगरीको बुडापेस्ट यात्रालाई पुरुष र महिला ५-५ खेलाडी गत जेठ चौथो साता छनोट गरेको थियो। ती १० खेलाडीमध्ये विवेक थिङमात्रै बुडापेस्ट पुगेका छन्।

सबैभन्दा उच्च वरीयताका नेपाली खेलाडी विवेक सिड्नी, अस्ट्रेलिया बसोबास गर्छन्। र, उनी उतैबाट मंगलबार बुडापेस्ट पुगेका हुन्। अरू नौ जना नेपाली खेलाडी भने भिसाको दोस्रो ‘असफल’ प्रयासपछि नयाँ दिल्लीबाटै स्वदेश फर्कने भएका छन्। त्यसैले सन् २००४ यता पहिलोपल्ट नेपाली खेलाडी ओलम्पियाडमा सहभागि हुनबाट वञ्चित भएका छन्।

महासंघले नौ खेलाडीसहित २१ जनालाई बुडापेस्ट जाने ओलम्पियाड टोलीमा समावेश गरेको थियो, जसलाई काठमाडौंस्थित जर्मनी दूतावासले भिसा दिएन। त्यसपछि खेलाडीलाई रातारात धनगढी हुँदै मंगलबार दिल्ली पुऱ्याइएको थियो। राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्ने सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता नै चेस ओलम्पियाड हो। र, चेस ओलम्पियाड २-२ वर्षमा आयोजना गरिन्छ।

‘जर्मनी दूतावासले ४ तारिख (सेप्टेम्बर) अन्तर्वार्ता लियो, ५ तारिख भिसा अस्वीकृति गयो। अपिल गरे पनि भएन,’ महासंघका कार्यसमिति सदस्य राजु ताम्राकारले दिल्लीबाट भने, ‘आज (बुधबार) दिउँसो ३ बजे हंगेरी एम्बेसीले भिसा एप्लाई नगर्न सुझाव दिँदै भिसा दिन असमर्थ रहेको जानकारी गरायो। सबै खेलाडी निराश छन्। दिल्ली- काठमाडौंको हवाई टिकट खोज्दैछौं।’

भिसा नपाउँदा पुरुष टिमका राष्ट्रिय च्याम्पियन राजन सुवेदी, गत वर्षका विजता रुपेश जैसवाल, सुश्रुत दाहाल र क्षितिज भण्डारी रोकिएका हुन्। महिला टोलीमा राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशी, कृतिसरा अधिकारी, पूजा भण्डारी, शान्ति धिमाल र रिया श्रेष्ठ थिए।

खेलाडीहरूसँगै महासंघका अध्यक्ष हेराकाजी महर्जन, महासचिव धर्मबहादुर लामा, कोषाध्यक्ष ताराबहादुर रानाभाट, सदस्य राजु ताम्राकारलगायत २१ जनालाई महासंघले हंगेरी जाने नेपाली टोलीमा राखेका थिए। अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) ले यो ओलम्पियाडमा पुरुषतर्फ १९७ र महिलातर्फ १८३ देशका झन्डै दुई हजार खेलाडी सहभागी भएको जनाएको छ। ४५औं ओलम्पियाडको भव्य उद्घाटन मंगलबार भयो। पहिलो चरणको खेल बुधबार हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *