पेरिस ओलम्पिकमा शनिबार दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
३३ औं गृष्मकालीन ओलम्पिकको औपचारिक उद्घाटन भएको भोलिपल्ट टेबल टेनिसका स्यान्टु श्रेष्ठ र ब्याटमिन्टनका प्रिन्स दाहालले प्रतिस्पर्धा गर्न लागेका हुन्। आगामी अगष्ट ४ सम्म सञ्चालन हुनेछ ।
नेपाली टेबलटेनिसको इतिहासमा ओलम्पिक खेल्ने स्यान्टु पहिलो खेलाडी हुन्। उनले दक्षिण एसियाली छनोट चरण पार गर्दै ओलम्पिकमा स्थान बनाएका थिए। छनोट चरण पार गरेर ओलम्पिक खेल्ने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन् ।
यसअघि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए। संगिनाले सन् २००४ को एथेन्स ओलम्पिक र दीपकले सन् २००८ को बेइजिङ ओलम्पिक खेलेका थिए ।
ब्याडमिन्टन खेलाडी प्रिन्स समूह ‘पी मा परेका छन्। पुरुष सिंगलतर्फ ३६ देशका ४१ खेलाडीबीच १३ वटा समूहमा रहेर प्रारम्भिक चरणमा प्रतिस्पर्धा हुनेछ।
प्रिन्सको दोस्रो वरियताका डेनमार्कका भिक्टोरसहित तीनपटक ओलम्पिक खेलिसकेका इजरायलका मिसा जिल्बरमन र आयरल्याण्डका नहत गुएनसँग प्रतिस्पर्धा हुनेछ ।
सन् २०१२, २०१६ २ २०२० को ओलम्पिक खेलेका मिसा युरोपियन च्याम्पियनसिपका पदकधारी हुन् । आइरिस गुएन पनि युरोपियन यू-१७ च्याम्पियनसिपका स्वर्ण विजेता हुन् ।
राउन्ड रोबिनमा प्रतिस्पर्धा गरेपछि समूहका शीर्षस्थानमा रहने खेलाडी नकआउट पुग्नेछन् । प्रत्येक खेल ‘बेष्ट अफ थ्री’मा हुनेछ ।
ब्याडमिन्टनको प्रतिस्पर्धा पेरिसस्थित पोर्ट डे ला चापेल एरिनामा जुलाई २७ देखि अगष्ट ५ सम्म हुनेछ । नेपाल ब्याडमिन्टन संघले समयमै प्रशिक्षकको नाम सिफारिस नगर्दा प्रिन्स पेरिस ओलम्पिकमा प्रशिक्षकविना नै पुगेका छन् ।
