पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोह आज शुक्रबार हुदैछ । नेपाली समय अनुसार ११:१५ देखि शुरु हुने उदघाटन समारोह करिब ३ घण्टासम्म चल्ने छ । यो पटक ओलम्पिक खेलको उद्घाटन समारोह ओलम्पिक स्टेडियममा नभई सीन नदीको किनारामा हुनेछ । उद्घाटन समारोहमा नेपालबाट टेबलटेनिस खेलाडी श्यान्टु श्रेष्ठ र जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले नेपालको झण्डा बोक्नेछन् ।
ओलम्पिक खेलको इतिहासमा पहिलो पटक उद्घाटन समारोह ओलम्पिक स्टेडियम बाहिर हुन लागेको हो । जसले पेरिस ओलम्पिकलाई विशेष समेत बनाएका थिए । ओलम्पिक खेलको शुरुवात सन १८९६ मा ग्रीसको एथेन्सबाट शुरु भएको थियो । ओलम्पिक खेलको १२८ वर्षको इतिहासमा पहिलो पटक सहभागि खेलाडीले सीन नदीको किनारामा मार्चपास गर्नेछन । सीन नदी पेरिस शहरको बिचमा रहेको छ ।

पेरिस ओलम्पिकको उद्घाटन समारोहमा लगभग १०० डुङ्गामा चढेर १० हजारभन्दा बढी खेलाडी सीन नदी हुदै जानेछन् । ति डुङ्गाहरु पेरिस शहरको चर्चित र प्रतिष्ठित स्थान हुँदै जानेछन । जसमा नोट्रे डेम, पोन्ट डेस आर्टस र पोन्ट न्यूफ रहेका छन् ।
फ्रान्स तेस्रो पटक ग्रिष्मकालिन ओलम्पिक खेलको आयोजना गर्दैछ। फ्रान्सले पहिलो पटक सन् १९०० र १९२४ मा ओलम्पिक खेलको आयोजना गरेको थियो। पेरिस ओलम्पिकमा परम्पारिक खेल साथै नयाँ खेललाई पनि समावेस गरिएको छ । जसमा स्केटबोर्डिङ स्पोर्टस क्लाइम्बिङ्ग, सर्फिग र ब्रेकिङ लाई समावेस गरिएको छ ।
पेरिस ओलम्पिकमा ३२ खेलमा ३२९ पदकको लागि भिडन्त हुनेछ । जसमा दुई सयभन्दा बढी देशका १० हजार भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
