नेपाली ब्याडमिन्टनका उदियमान स्टार प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा कठिन समूह मा परेका छन् ।
ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर एक भइसकेका प्रिन्स समूह ‘पी’ मा विश्व वरीयताको दोस्रो स्थानका डेनमार्कमा भिक्टर एक्सेलसनसँगै परेका छन् ।
विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) को मुख्यालय मलेसियाको क्वालालम्पुरमा शुक्रबार भएको समुह विभाजनमा प्रिन्सको समुहमा भिक्टरसँगै आयरल्यान्डका नियात नुयन (४३औं वरीयता) र इजरायलका मिसा जिल्वरमन (५९औं वरीयता) रहेका छन् । प्रिन्स विश्व वरीयतामा १ सय ७२औं स्थानमा रहेका छन् ।

ओलम्पिकमा सहभागी खेलाडीलाई १६ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई खेलाडीले अन्तिम ३२ मा स्थान पक्का गर्नेछन् । पेरिस ओलम्पिक २०२४ अन्तरगत ब्याडमिन्टनका खेलहरु २७ जुलाईबाट ५ अगस्टसम्म हुनेछन् । १९ वर्षीय प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका छन् । प्रिन्सले युनिभार्सलिटी कोटाबाट ओलम्पिक खेल्न लागेको हो । ब्याडमिन्टनमा यसपटक १ सय ६६ नियमित कोटा (८३ पुरुष र ८३ महिला), ३ युनिभार्सलिटी कोटा र एक ओलम्पिक रिफ्युजी कोटामार्फत खेलाडी प्रतिस्पर्धा गर्दैछन् । यस्तै आयोजक कोटामा फ्रान्सका खेलाडी वरीयताबाट योग्य हुँदा त्यसमा अर्का योग्य खेलाडीले खेल्नेछन् ।
युनिभार्सलिटी स्थान ओलम्पिकमा कमजोर उपस्थिति जनाउने राष्ट्रका खेलाडीलाई ओलम्पिकमा प्रतिस्पर्धा गर्ने अवसर दिन निर्धारण गरिएको कोटा हो । विश्वभरबाट ब्याडमिन्टनमा ३ खेलाडी पाएको कोटामा प्रिन्स आफ्नो पुरानो प्रदर्शनको आधारमा छनोट भएका हुन् । प्रिन्ससँगै ब्याडमिन्टनको यस कोटामा पुरुषतर्फ सुरीनामका सोरेन ओप्ति र महिलातर्फ माल्दिभ्सकी अब्दुल रजाक फथिमाथले खेल्नेछन् । पछिल्लो समय नेपाली ब्याडमिन्टनमा एकपछि अर्को उपाधि जित्दै आएका प्रिन्सले लामो समयदेखि ओलम्पिक लक्षित तयारी थालेका थिए ।
