माल्दिभ्समा हुने काभा यु-२० महिला भलिबल च्याम्पियनसिप २०२४ मा सहभागी हुने नेपाली टोलीलाई बिदाई गरिएको छ । नेपाल भलिबल संघ (एनभीए) ले सोमबार एक कार्यक्रमका बीच नेपाली टोलीलाई बिदाई गरेको हो ।
नेपालले आफ्नो पहिलो खेल १८ जुलाई (साउन ३) गते श्रीलंकासँग खेल्ने भएको छ । चार राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको दोश्रो खेल नेपालले १९ जुलाई (साउन ४) गते कीर्गिस्तानसँग खेल्ने छ ।
यस्तै नेपालले तेश्रो खेल २० जुलाई (साउन ५) गते माल्दिभ्ससँग खेल्नेछ । प्रतियोगिताका खेलहरु सिंगल राउण्ड रोविनका आधारमा खेलाइने छ ।
लिग चरणको अन्त्यपछि शीर्ष स्थानमा रहने राष्ट्रले प्रतियोगिताको उपाधि जित्ने छ । प्रतियोगिताका लागि नेपाल भलिबल संघले १२ सदस्यीय नेपाली टोलीको समेत घोषणा गरिसकेको छ ।
टोलीमा बागमती प्रदेशका ६, लुम्बिनी प्रदेशका ४ तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट समान १-१ खेलाडी छनौट भएका छन् ।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा कुमार राई र सहायक प्रशिक्षकमा अर्जुन घिमिरे तथा व्यवस्थापकमा जुनु पुन मगर रहेका छन् । नेपाली टोली साउन १ गते दिउँसो १:३० बजे माल्दिभ्स प्रस्थान गर्ने तालिका रहेको छ ।
नेपाली टोली:
सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री
