काठमाडौं। नेपाल ओलम्पिक कमिटी (एनओसी) को तत्वावधानमा एनओसीअन्तर्गत रहेको स्पोर्ट्स फर अल कमिसनको आयोजनामा शनिबार नेपालमा अन्तर्राष्ट्रिय ओलम्पिक डे २०२४ मनाइएको छ ।
नेपाली सेनाको लगनखेलस्थित शैनिक शारीरिक तालिम तथा प्रशिक्षक केन्द्रमा रहेको कभर्डहलमा विभिन्न कार्यक्रममको आयोजना गरी ओलम्पिक डे मनाइएको छ ।
त्यस अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालको झण्डा झण्डोत्तोलन गरे । ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा झण्डोत्तोलन गरे । नेपालबाट विभिन्न खेलमा ओलम्पिकमा सहभागिता जनाएका खेलाडीहरुले ओलम्पिक टर्च लिएर कभर्ड हलमा प्रवेश गरेका थिए ।
अन्तर्राष्ट्रिय ओलम्पिक डे हरेक वर्ष जुन २३ मा मनाइँदै आएको छ । नेपालमा भने जुनको पहिलो साता देखि नै विभिन्न कार्यक्रम गरिँदै आएको थियो । जुन ८ मा ओलम्पिक डे को औपचारिक सुरुआत भएको थियो । शनिबार ओलम्पिक डे २०२४ को औपचारिक समापन सहितको कार्यक्रम आयोजना गरिएको हो ।
ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले त्यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरी ओलम्पिक डे मनाइएको उल्लेख गर्दै यसले नेपाली खेलकुदमा भातृत्व बढ्ने बताए । ओलम्पिक डे २०२४ को समापनको अवसरमा बक्सिङ, जुडो, फेन्सिङ, कराते र उसु खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए ।
