युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई आगामी वर्षदेखि बैंक खातामार्फत नै पुरस्कारको रकम दिने व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई सरकारले पुरस्कारको घोषणा गरे पनि अझै दिन नसकेको भन्दै आलोचना भइरहेका बेला उनले आगामी आर्थिक वर्षको बजेटमा सो व्यवस्था गरिएको बताए ।

आइतबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले भने, “अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा पुरस्कारको व्यवस्था गरिएअनुसार चार करोड ३५ लाख बजेट विनियोजन गरिएको छ । आगामी वर्षदेखि पदक विजेता खेलाडीलाई बैंक खातामार्फत नै पुरस्कारको रकम जाने व्यवस्था मिलाइएको छ ।’

उनले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेट आवश्यक भएकाले प्रदेश र स्थानीय तहमा ससर्त अनुदान कार्यक्रमका लागि बजेट विनियोजन गर्न नसकिएको बताए ।

एसियन र साग खेलकुदमा पदक विजेता खेलाडीहरूका लागि ६ हजारका दरले मासिक भत्ताको पनि व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गरिएको उनले जानकारी दिए ।

“ओलम्पिकमा सहभागी एसियन खेलमा पदक विजेता, साग खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीहरू ३५७ जनालाई मासिक ६ हजारको दरले मासिक भत्ता प्रदान गर्न बजेट विनियोजन गरिएको छ,” मन्त्री श्रेष्ठले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *