आईसीसी पुरुष टी-२० विश्वकपअन्तर्गत आज राति दक्षिण अफ्रिकाले साविक विजेता इंग्ल्यान्डको सामना गर्दैछ ।
सुपर ८ को समूह ‘२’ मा रहेको दक्षिण अफ्रिका र दुई पटकको विजेता इंग्ल्यान्डबीचको खेल नेपाली समयअनुसार आज राति ८:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।
समूह ‘२’ अन्तर्गत इंग्ल्यान्ड र दक्षिण अफ्रिकाले आ- आफ्नो पहिलो खेलमा जित हात पारिसकेका छन् र आज रातिको खेलमा जित हात पार्ने टोलीले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउनेछ ।
पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गरेको थियो भने इंग्ल्यान्डले भने वेस्ट इन्डिजलाई ८ विकेटले पाखा लगाएको थियो ।
इङ्ल्यान्डले हालसम्म दुईपटक टी-२० विश्वकपको उपाधि जितिसकेको छ । दक्षिण अफ्रिकाले भने हालसम्म टी-२० विश्वकपको उपाधि चुम्न सकेको छैन । दक्षिण अफ्रिका हालसम्म फाइनलमा पनि पुग्न सकेको छैन ।
