युरो कप २०२४ को आफ्नो दोस्रो खेलमा उपाधि दाबेदार इङ्ल्यान्डले डेनमार्क विरुद्ध अंक बाँडेको छ । फ्रांकफर्ट एरिनामा भएको खेलमा इङ्ल्यान्डले डेनमार्क विरुद्ध १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।
पहिलो खेलमा सर्बिया विरुद्ध १-० को झिनो अन्तरको जित हासिल गरेको इङ्ल्यान्डले डेनमार्क विरुद्ध लिएको अग्रता बचाउन सकेन ।
१८औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इल्यान्डलाई अग्रता दिलाएका थिए । जोआकिम एन्डरसनलाई चकित लार्दै काईल वालकरले लिएको बलमा उनको क्रस केनको दिशातर्फ पुगेपछि उनले सहजै गोल गरेका थिए ।
३४औं मिनेटमा डेनमार्कले बराबरी गरेको थियो । क्यास्पर ह्युमलन्डले बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै डेनमार्कका लागि खेलमा बराबरी गरेका थिए । अन्त्यमा सोही गोलको मद्दतमा डेनमार्कले एक अंक हासिल गर्यो ।
नतिजापछि इङ्ल्यान्डको २ खेलमा ४ अंक भएको छ । डेनमार्क र स्लोभेनियाको समान २ खेलमा समान २ अंक नै छ भने सर्बियाको १ अंक छ । सर्बिया र स्लोभेनियाले बिहीबार नै १-१ को बराबरी खेलेका थिए ।

