नेसनल चेस च्याम्पियनसिप २०२४ बाट ३ पुरुष र ४ महिला गरी ७ खेलाडी हंगेरीमा सेप्टेम्बरमा हुने ४५ औं चेस ओलम्पियाड २०२४ का लागि छनोट भएका छन् ।

लाजिम्पाटस्थित होटल ले हिमालयमा विहीबार सम्पन्न च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष तीन र महिलाका शीर्ष चार खेलाडीले ओलम्पियाड खेल्ने नेपाली टिममा स्थान बनाएका हुन् । लुम्बिनी इभेन्ट्स म्यानेजमेन्ट र नेपाल बुद्धिचाल महासंघले आययोजना गरेको प्रतियोगितामा सर्बाधिक ८ अंक बनाउँदै झापाका राजन सुवेदी राष्ट्रिय प्रतियोगितामा नयाँ च्याम्पियन भए ।

अर्का झापाली सुश्रुत दाहाल र फिडे मास्टर (एफएम) क्षितिज भण्डारीले समान ७.५ अंक हात पारेर शीर्ष तीनमा रहे । समान अंक भएपनि ‘हेड टु हेड’ को आधारमा सुश्रुत उपविजेता भए । अन्तिम चरणमा सुश्रुतले १५१ रेटिङमाथिका पुरुषोत्तम सिलवाललाई पराजित गर्दै राष्ट्रिय प्रतियोगितामा पहिलो सहभागितामै ओलम्पियाडमा स्थान बनाएका हुन् ।

झापाकै प्रकाशचन्द्र नेपाल ६.५ अंकसहित चौथोमा रहे भने पुरुषोत्तम सिलवाल र गत वर्षको विजेता रुपेश जैयसवालले ६-६ अंक बनाए ।

२३ औं राष्ट्रिय प्रतियोगितामा खुलातर्फको विजेताको रुपमा रुपेश र अस्ट्रेलियामा रहेका विवेक थिङ शीर्ष रेटिङको आधारमा ४५ औं ओलम्पियडामा छनोट भइसकेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ ।

२३ औं राष्ट्रियमा महिलातर्फकी विजेता सुजना लोहनी २४ औं संस्करणमा सहभागि भइनन् । हाल अस्ट्रेलियामा रहेकी उनलाई गत वर्षकै विजेताको आधारमा ओलम्पियाड टिममा महासंघले छनोट गरिसकेको छ । राष्ट्रिय टिमले प्रतिस्पर्धा गर्ने सबभन्दा प्रतिष्ठित् प्रतियोगिता ओलम्पियाडमा नेपाली पुरुष र महिला टिममा ५- ५ खेलाडी हुनेछन् ।

यसपालिको च्याम्पियनसिपमा महिलातर्फकी विजेता सिन्दिरा जोशीलाई अन्तिम चरणमा पराजित गरेकी कृतिसरा अधिकारी उपविजेता भइन् । सिन्दिराले ९, कृतिसराले ८.५ अंक बनाए । पूजा भण्डारी र शान्ति धिमाल समान ८

अंकसहित शीर्ष चारमा रहे। यी चार खेलाडी ओलम्पियाड खेल्ने नेपाली महिला टिममा छनोट भएको महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राईले बताए ।

स्वीस लिगको आधारमा ६ दिन सञ्चालिन च्याम्पियनसिपमा छनोट भएका उत्कृष्ट १२ पुरुष र १२ महिला खेलाडीले प्रतिस्पर्धा गरे । राउन्ड रोबिन लिगको आधारमा प्रत्येक खेलाडीले ११-११ खेल खेलेका थिए ।

च्याम्पियनसिपमा खुला र महिलातर्फका विजेताले समान २५ हजार, उपविजेताले १५ हजार र तृतीय स्थान हात पार्ने खेलाडीले १० हजार रुपियाँ हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *