सुनसरी : रारा फुटबल क्लब राजारानी धनकुटाले भलुवा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

बुधबार सुनसरीको दुहबी -७ भलुवा खेलमैदानमा सम्पन्न दशौं संंस्करणको उपाधि भिडन्तमा रारा फुटबल क्लबले सलहेश युवा क्लब सिरहालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो ।

प्रतिस्पर्धात्मक बनेको उपाधि भिडन्तमा दोस्रो हाफको सातौं मिनेटमा राराका साइमन लिम्बुले गरेको गोल निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच भएका साइमनले नगद ५ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे ।

उपाधिसँगै राराले नगद रु ४ लाख १ सय १ रुपैयाँ सहित ट्रफि, मेडल तथा प्रमाण पत्र प्राप्त गर्यो भने उपविजेता सलहेशले नगद रु २ लाख १ सय १ रुपैयामा सहित ट्रफि, मेडल तथा प्रमाण पत्रमा चित्त बुझायो ।

प्रतियोगितामा राराका देवेन्द्र तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद १० हजार रुपैयाँ हात पारे । त्यस्तै, सार्वधिक गोलकर्ता सलहेशका आदित्य शाक्य र अर्माण्ड बिडुम बने । प्रतियोगिताभरि समान ३-३ गोल हानेका दुबैले ७ हजार आपसमा बाँडे ।

राराका प्रदिप भण्डारी उत्कृष्ट गोलरक्षक, सलहेशका कुलदिप कार्की उत्कृष्ट डिफेन्डर, सलहेशकै मौसम सुब्बा उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक राराका रुपन चेम्जोङ घोषित भए । उत्कृष्ट घोषित भएका सबैले जनही नगद ५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरेका छन् ।

प्रतियोगिताको उदयमान खेलाडी गोल्डेन स्टार युथ क्लबका गोलरक्षक अमन थन्दार चुनिए । उनले नगद ३ हजार सहित ट्रफी प्राप्त गरे ।

गोल्डेन स्टार युथ क्लब, दुहबीको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री बिजय कुमार गच्छदार लगायतले पुरस्कृत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *