नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेण्ट म्यानेजमेण्टको संयुक्त आयोजनामा जारी २४ औं खुल्ला र नवौं राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिता अन्तर्गत नवौं चरणको खेल आज पाँचौं दिन होटल ले हिमालयमा सम्पन्न भएको छ।
नवौं महिला राष्ट्रिय चेस प्रतियोगितामा पूर्व नेपाल महिला नेशनल च्याम्पियन सिन्दिरा जोशीले ८ अंक बनाउदै एकल अग्रता हासिल गरेकी छिन्।
यससँगै सिन्दिरा जोशी आगामी सेप्टेम्बर ९ देखि २३ गते सम्म हंगेरीको बुढापेष्टमा आयोजना हुने ४५ औं चेस ओलम्पियाड खेलमा छनौट भएकी छिन्।
नेपाल बुद्धिचाल महासंघले ४५ औं चेस ओलम्पियाड लागि नेपालका शीर्ष रेटेड खेलाडी १, निवर्तमान नेपाल च्याम्पियन १ र राष्ट्रिय प्रतियोगितामा पहिलो, दोश्रो अनि तेस्रो स्थान प्राप्त गर्ने ३ जना खेलाडी सहित जम्मा ५ जना खेलाडी पठाउने निर्णय गरेको थियो ।
जसमा महिला निवर्तमान नेपाल च्याम्पियन च्याम्पियन र शीर्ष रेटेड खेलाडी सुजना लोहनी एकै व्यक्ति भएको कारण नवौं राष्ट्रिय प्रतिस्पर्धाबाट ४ जना महिला खेलाडी छनौट हुने छन्।
सिन्दिरासँगै ओलम्पियाडमा सहभागी हुने होडमा रहेकी शान्ति धिमाल ७ अंक जोडेर दोश्रो स्थानमा उभिएकी छिन्। नेपालको राष्ट्रिय झण्डा मुनि बसेर बुढापेष्टमा छनौट हुन पूजा भण्डारी र कृतिसरा अधिकारी समान ६.५ अंक बोकेर संयुक्त तेश्रो स्थानमा रहेका छन्।
भोलिको अन्तिम चरणबाट हंगेरीको बाटो तय गर्ने धुनमा काठमाडौंकी रिया श्रेष्ठ र बिनिता कपाली समान ५.५ अंक बनाएर झिनो आशाको पर्खाइमा रहेका छन्।
झापाका राजन सुवेदी छनौट नजिक २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको पुरुषतर्फ १९५९ रेटेड प्राप्त झापाका राजन सुवेदीले ६ खेलमा जीत र एकमा बराबर खेल्दै नेपाल च्याम्पियन हुने मार्गमा एकल अग्रता कायम गरेका छन्।
नेपाल च्याम्पियनको प्रतिस्पर्धामा रहेका १९६१ रेटेड प्राप्त एआईएम शुश्रुत दहाल, २११२ रेटेड युवा पुरुषोत्तम सिलवाल र २०८५ रेटेड एफएम क्षितिज भण्डारी तिनै जनाले ६-६ अंक जोडेर संयुक्त दोश्रो स्थानमा रहन सफल भएका छन्।
नेपाल बुद्धिचाल महासंघले चेस ओलम्पियाडमा सहभागी गराउन नेपालका उत्कृष्ट फिडे रेटेड विवेक थिङ र निवर्तमान नेपाल च्याम्पियन रुपेश जैसवालको नाम पक्का गरिसकेको छ।
बाकी ३ जना खेलाडी राष्ट्रिय प्रतियोगिताको विजेता, उपविजेता र तृतीय हुनेले स्थान पक्का गर्नेछन्। १९५१ रेटेड झापाका प्रकाशचन्द्र नेपाल ५.५ अंक, २०५५ रेटेड रुपेश जैसवाल ५ अंक, १८९५ रेटेड सुशील चौधरी ४ अंक बनाएर आआफ्नो खेललाई निरन्तरता दिइरहेका छन्।
नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय प्रतियोगिताका संयोजक दिपेन राईका अनुसार १२ जना शीर्ष खेलाडी बिच ११ चरणको राउण्ड रोविन खेल सम्पन्न पश्चात् बिहिबार पुरस्कार वितरण तथा समापन कार्यक्रम होटल ले हिमालयमा हुने जानकारी गराएका छन् ।
विश्व बुद्धिचाल महासंघ फिडे डेभलपमेन्ट समितिका सदस्य तथा लुम्बिनी इभेण्ट म्यानेजमेण्टका अध्यक्ष सुबोध सेर्पालीले आर्थिक व्यवस्थापनका सहयोगी हिमालय प्रोपर्टी म्यानेजमेण्ट प्राली, ओम क्वालिटि फाइबर ग्याँस एण्ड ग्रील मेटल प्राली, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, रुक्मिणी टुर्स एण्ड ट्राभल्सलाई सम्मान गर्ने जानकारी गराएका छन्।
