हेल्प नेपाल स्पोर्ट्स क्लब औठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न दिनको पाँचौं खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल फाइनलमा पुगेको हो ।

आर्मीविरुद्ध २५-१७, २५-१५ र २५-२१ ले जित निकाल्दै फाइनलमा पुगेको हेल्प नेपालले उपाधिका लागि गण्डकी प्रदेशसँग खेल्ने छ।

हेल्प नेपालको यो छैठौं जित हो। आजको जितसँगै ७ खेलबाट १९ अंक जोडेको हेल्प नेपालले लिग चरणको दोश्रो स्थानमा रहँदै फाइनल खेल्ने भएको हो । यसअघि बूढानीलकण्ठ, कोशी, सुदूरपश्चिम, एपिएफ र पुलिसलाई हराएको हेल्प नेपाल गण्डकीसँग पराजित भएको थियो ।

लगातार तेश्रो हार व्यहोरेको आर्मीले समान खेलबाट १२ अंक जोडेको छ । आर्मीको फाइलन सम्भावना समाप्त भएको छ । यसअघि बूढानीलकण्ठ, कोशी, एपिएफ र सुदूरपश्चिमलाई हराएको आर्मी पुलिस र गण्डकीसँग पराजित भएको थियो ।

नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ८ टोली र महिलातर्फ ६ टोली प्रतिस्पर्धा गरिरहेका छन्। लिगमा पुरुषतर्फ २८ खेल र महिलातर्फ १५ खेल हुनेछ शुक्रबार नै सकिदै छ । अब महिला र पुरुष दुवैतर्फ फाइनल र तेश्रो स्थानको खेल शनिबार हुनेछन् ।

प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फको विजेता, उपविजेता र तेश्रो हुने टोलीले रु. ८ लाख, ४ लाख र २ लाख नगद पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै विधागततर्फ सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान ५० हजार, उत्कृष्ट लिब्रो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकले जनही रु. २०-२० हजार प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *