ललितपुर मेयर्स कपको पहिलो खेलमा आयोजक ललितपुर मेयर्स ११ ले बागमती प्रदेशमाथि सहज जित हासिल गरेको छ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा शनिबार सम्पन्न प्रतियोगिातको उद्घाटन खेलमा ललितपुरले ७ विकेटको जित हासिल गर्यो।
बागमतीले दिएको ५३ रनको लक्ष्य ललितपुरले १३.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। ललितपुरका लागि कप्तान पुजा महतोले २३ तथा ओपनर लक्ष्मी चौधरीले १२ रन, किरन कुवाँर र सरस्वती जिएमले समान ६/६ रन बनाईन्। बागमतीका लागि खुसी डंगोलले १ विकेट लिइन्।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले १४.२ ओभरमा ५२ रनमा अल आउट भयो। बागमतीका लागि कप्तान अस्मिना कर्माचार्यले २० तथा ओपनर कन्चन श्रेष्ठले ११ रन बनाईन् भने बागमतीका लागि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यता ललितपुरका लागि कृतिका मरासिनीले ४ तथा सरस्वती चौधरीले ३ विकेट लिईन् । कृतिका ह्याट्रिक विकेट लिएकी थिइन्। उनले लगातार ४ बलमा ४ विकेट लिएकी थिईन्।
