अरहान्त केशर सिंह र स्वस्थानी श्रेष्ठले शुक्रबार एनएसआरए राष्ट्रिय र्याङकिङ स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल स्क्वास एन्ड यकिट्स संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पुरुष एकलको फाइनलमा अरहान्तले अमिर ब्लोनलाई चार सेटमा ११-५, ६-११, ११-१ र ११-५ ले हराए ।
महिला एकलमा स्वस्थानी श्रेष्ठले राष्ट्रिय च्याम्पियन विपना ब्लोनलाई चार सेटमै ११-७, ९-११, ११-४, ११-५ ले पराजित गरिन् । सातदोबाटोस्थित स्क्वास हलमा शुक्रबार नै तेस्रो स्थानका लागि भएको खेलमा दीपक थापाले पासाङ ब्लोनलाई चार सेटमै २-११, ११-०, ११- ६ र ११-४ ले हराए ।
महिला एकलमा कृष्णा थापा अस्मिता नगरकोटीलाई सीधा सेटमा ११-५, ११-७ र ११- ३ ले हराएर तेस्रो भइन् । यस प्रतियोगताबाट प्राप्त खेलाडीहरुको वरीयता २०८१ सालको चैत महिनासम्म रहनेछ । यसैगरी शीर्ष चार स्थानमा रहने खेलाडीलाई स्क्वास संघले नगद पुरस्कारबाट पुरस्कृत गरेको थियो ।
