आईसीसी टी-२० विश्वकप अन्तर्गत क्यानाडा बिरुद्धको वार्मअप म्याचमा नेपाल पराजित भएको छ ।
सोमवार राती भएको पहिलो वार्म अप खेलमा नेपाल क्यानाडासँग ६३ रनले पराजित भएको हो । जितका लागि क्यानाडाले दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२० रन मात्र बनाउन सक्यो ।
नेपालकालागि कुशल मल्ले सर्वाधिक ३७ रनको योगदान गरे । अनिल शाहले २४, आशिफ शेखले २२ तथा कुशल भुर्तेलले १० रन जोडे । गुल्शन झा र अविनाश बोहरा शुन्य रनमा आउट भए ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा डिलोन हेलिगर सर्वाधिक ४ विकेट लिए ।
त्यसअघि अमेरिकाको डलासमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ थालेको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो ।
उसकालागि निकोलस किर्टनले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५२ रनको योगदान गरे । रविन्द्रपाल सिंहले ४१, नवनीत धालिवालले ३२ , पारगत सिंहले १३ तथा आरोन जनसनले १० रन जोडे ।
बलिङतर्फ अबिनाश बोहराले सर्वाधिक २ विकेट लिए । करण केसी, ललित राजवंशी, सागर ढकाल , सोमपाल कामी र गुल्शन झाले १/१ विकेट लिए ।
