काठमाडौँ । नेपालले एटीएफ यु-१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) को ब्वाइजमा बुधबार जित हात पारेको छ ।
चार राष्ट्र रहेको समूह ‘बी’ को लिग खेलमा नेपालले भुटानलाई ३-० को सोझो सेटमा पराजित गरी सान्त्वना जित हात पार्यो । यसअघि नेपाल श्रीलंका र पाकिस्तानसंग चुकेको थियो । यो नतिजासंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिलो सिंगल्समा नेपालका विश्वविशेष डल्लाकोटीले डुड्डु तेन्जिङलाई ६-० र ६-३ तथा निश्चल ज्ञवालीले पेल्थोप छिरिङलाई ६-२ र ६-३ को सोझो सेटमा पराजित गरे । डबल्समा नेपालका विश्व र साहनावाज आलमको जोडीले पेल्थोप र मिफाम छिरिङको जोडीलाई ६-० र ६-२ को सेटमा हराए ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमै पाकिस्तानले श्रीलंका तथा भारतले बंगलादेशलाई समान ३-० ले पन्छाए । योसंगै ब्वाइजमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा भारतको भेट श्रीलंकासंग हुनेछ भने पाकिस्तानले बंगलादेशको सामना गर्ने छ ।
गर्ल्समा श्रीलंकाले नेपाललाई ३-० ले पराजित गर्यो । सिंगल्समा लियङ सानुथी वोङले नेपालीकी सारा पन्तलाई ६-० र ६-० तथा श्रीलंकाकी दाम्सिलुनी सहन्साले अनुश्री धोजुलाई ६-० र ६-१ को सोझो सेटमा पन्छाए । डबल्समा श्रीलंकाका लियङले हेवासाम पथिराजाको जोडीले अनुश्री र आयुशा जिसीको जोडीलाई ६-४ र ६-३ को सेटमा पाखा लगाए । नेपालको यो लगातार तेश्रो हार हो । यसअघि नेपाल बंगलादेश र भारतसंग पराजित भएको थियो ।
