नेपाल एटीएफ यु-१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा मंगलबार पराजित भएको छ । नेपाल ब्वाइजमा पाकिस्तान र गल्समा भारतसंग चुक्यो । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगिताको पहिलो दिन नेपालको ब्वाइज टिम श्रीलंकासँग ३-० तथा गर्ल्स टिम बंगलादेशसँग २-० ले पछि परेको थियो ।
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइजमा पाकिस्तानले नेपाललाई ३-० ले पराजित गर्यो । सिंगल्समा रशिद अलीले नेपालका विश्वविशेष डल्लाकोटीलाई ६-३ र ६-० तथा मुहम्मद सायनले नेपालका निश्चल ज्ञवालीलाई ६-१ र ६- १ को सोझो सेटमा पराजित गरे ।
डबल्समा सायन र जुनैद खान मुहम्मदको जोडीले नेपालका विश्व र साहनवाज आलमको जोडीलाई सीधा सेटमा ६-१ र ६-० ले पाखा लगाए । ब्वाइजमै भारतले माल्दिभ्स तथा श्रीलंकाले भुटानलाई समान ३-० को नतिजामा पन्छाए ।
दोहोरो जित निकाल्ने क्रममा गर्ल्समा भारतले नेपालमाथि ३-० को जित दर्ता गर्यो । सिंगल्समा श्रृष्टि किरणले नेपालकी आयुशा जिसीलाई ६-० र ६-० तथा खुशी कडियनले नेपालकी अनुश्री धोजुलाई ६-२ र ६-० को सोझो सेटमा पन्छाए ।
डबल्समा सरेना घलोट र श्रृष्टि किरणको जोडीले नेपालका अनुश्री धोजु र सारा पन्तको जोडीलाई ६-१ र ६-० ले पराजित गरे । अर्को खेलमा बंगलादेशले माल्दिभ्सलाई ३-० ले निराश पर्यो ।
