नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भइरहेको ९ औं महिला राष्ट्रिय ‘बी’ चेस च्याम्पियनसिप अन्तर्गत ७ चरणको अन्तिम छनौट खेल सम्पन्न भएको छ। भक्तपुर जिल्ला बुद्धिचाल संघको सहआयोजना एवं स्थानीय व्यवस्थापनमा भएको ४ दिनको प्रतिस्पर्धा मार्फत ९ जना महिला खेलाडी छनौट हुन सफल भएका छन् । यसै खेलवाट थप दुई जना खेलाडी वैकल्पिक रुपमा छानेका छन्।

नेपाल बुद्धिचाल महासंघको क्यालेण्डरी योजना अनुसार जेष्ठ १९ गते देखि काठमाडौंको ले हिमालयनमा हुने २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका लागि छनौट भएका विजेताले च्याम्पियन ट्रफी र बाँकीले मेडल प्राप्त गर्ने छन्।

भक्तपुरको सूर्य विनायक नगरपालिकाको प्रायोजनमा सम्पन्न सातौं चरणको खेल पश्चात् कोशी प्रदेश च्याम्पियन कृतिसरा अधिकारी ६ अंक प्राप्त गरि पहिलो हुन सफल भएका छन्। पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी ५.५ अंक, काठमाडौंका रिया श्रेष्ठ र पोखराका पूजा भण्डारी ४.५ अंक हासिल गर्दै छनौटमा परेका छन्।

क्लासिकल ९० मिनेट खेल मार्फत काठमाडौंका बिनिता कपाली, भक्तपुरका अंशुदिल प्रजापति, झापाका पुनम प्रसाईं, भक्तपुरका श्रेषा दुवाल र सविना गुज ४/४ अंक बनाएर छनौट हुन सफल बनेका छन्। दुई वैकल्पिक खेलाडीहरुमा ३.५ अंक जोडेर भक्तपुरका प्रश्ना किबानायो र रुपन्देहीका नमन सेढाई मौकाको प्रतिक्षामा रहने छन्।

सूर्य विनायक रिसोर्ट चुनदेवीमा सञ्चालन भइरहेको खुल्ला छनौट तर्फ आठौं चरणको खेल सकिदा युवा खेलाडी पुरुषोत्तम सिलवाल ६.५ अंक जोडेर एकल अग्रता कायम गरिरहेका छन्। काभ्रेका क्याण्डिडेड मास्टर मिलन लामा र एरिना इन्टरनेशनल मास्टर शुश्रुत दहाल ६ अंकका साथ संयुक्त दोश्रो स्थानमा जमेका छन्।

लुम्बिनी इभेण्ट म्यानेजमेण्टले महासंघसँग मिलेर संयुक्त आयोजना गर्ने राष्ट्रिय च्याम्पियनसिपमा छनौट हुन घम्साघम्सि गरिरहेका प्रेमकृष्ण महर्जन, सिएम केशब श्रेष्ठ, सुशील चौधरी, प्रकाशचन्द्र नेपाल, सिएम पुरुषोत्तम चौलागाईं, लोकसागर साम्भा, रिसोन थापा, राजीव कार्की र सुरोज महर्जन ५.५ अंक बोकेर संयुक्त तेश्रो स्थानमा पकड बनाइ रहेका छन्।

प्रतियोगिताका संयोजक एवं अन्तर्राष्ट्रिय निर्णायक निरञ्जन प्रजापतिका अनुसार ३० सेकेन्ड इन्क्रिजमेण्ट क्लासिकल खेलमा डाइरेक्ट इन्काउण्टर, बुचोल्स वान टु, मोष्ट वीन नियममा स्वीस लिग ९ चरणको खेल बिहान ९ बजे शुरु हुने जानकारी गराएका छन्। दिउँसो १२ बजे पुरस्कार वितरण तथा समापन समारोहमा सूर्य विनायक नगरपालिकाका मेयर बासुदेव थापाको प्रमुख अतिथि रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *