सरकारले नयाँ आर्थिक वर्षको बजेटमा खेलकुदमा रकम वृद्धि गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा घोषणा गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका छन्।

घोषित बजेटमा १ अर्ब ३० करोड रुपैयाँ खेलकुद पूर्वाधारमा विनियोजन गरिएको अर्थमन्त्री पुनले जानकारी दिए। सरकारले स्थानीय खेलहरु बागचल, डन्डिबियोसँगै इ-स्पोर्टसलाई समेत प्रवर्द्धन गर्ने जनाएको छ।

बजेटमा एसियन लेभलको इ-स्पोर्ट्स च्याम्पियनसिपको आयोजना गर्नेदेखि कर्णाली प्रदेशमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता र ८० भन्दा बढी राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने जनाइएको छ।

अर्थमन्त्री पुनले दशौं राष्ट्रिय खेलकुदका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। त्यस्तै, मुलपानी क्रिकेट मैदान र विराटनगरको गिरिजाप्रसाद क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्नेदेखि भरतपुरको क्रिकेट रंगशालालाई स्थानीय, प्रदेश र संघीय सरकारको साझेदारीमा निर्माण सम्पन्न गर्ने बजेटमा उल्लेख गरे।

त्यस्तै, पुनले कीर्तिपुर मैदानको स्तरोन्तीदेखि धनगढीको फाप्ला क्रिकेट मैदानको निर्माण कार्य सुरु गर्ने गरी बजेट विनियोजन गरिएको बताए। सरकारले ओलम्पिक र एसियन गेम्सका लागि राष्ट्रिय टिमको तयारी गर्नेदेखि राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहन गर्ने गरि बजेट विनियोजन गरेको जानकारी दिए।

नयाँ आर्थिक वर्षमा राष्ट्रिय स्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गर्ने गरी बजेटको व्यवस्था गरिएको जानकारी पुनले दिए। आधुनिक खेलको रुपमा विश्वभर लोकप्रिय रहेको इ-स्पोर्ट्सको अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्नेगरी सरकारले बजेटको विनियोजन गरेको छ। सरकारले चालू आर्थिक वर्षका लागि २ अर्ब ८६ करोड ५९ लाख रुपैयाँ विनियोजन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *