रजिन च्यामेले तेस्रो राष्ट्रिय कुङफु प्रतियोगितामा शनिबार तेहेरो स्वर्ण जितेका छन्। काठमाडौँका उनले सिनियर पुरुषको लङ वेपन, सर्ट वेपन र बेयर ह्यान्ड स्पर्धामा स्वर्ण जितेका हुन्।

कीर्तिपुर कभर्डहलमा भएको प्रतियोगिताको सिनियर पुरुषको लङ वेपनमा ओखढुङ्गा कुमार बलामी दोस्रो तथा ललितपुरका पेम्बा शेर्पा तेस्रो भए। सर्ट वेपनमा पनि कुमार र पेम्बाले त्यही सफलता दोहोऱ्याए। बेयर ह्यान्डमा भने पेम्बाले रजत तथा कुमारले कांस्य हात पारे।

नेपाल कुङफु संघको आयोजना तथा मार्सल आर्ट्स अर्गनाइजेसन नेपालको सह-आयोजनामा भएको प्रतियोगितामा धादिङका राज थापाले पनि स्वर्णमा ह्याट्रिक गरे। उनले जुनियर पुरुषको लङ वेपन, सर्ट वेपन र बेयर ह्यान्डमा गरी ३ स्पर्धामा स्वर्ण जिते।

बेयर ह्यान्डमा गोर्खाका सागर गुरुङले रजत तथा काठमाडौँका अमोद बस्नेतले कांस्य हात पारे। लङ वेपनमा गोर्खाका सागर दोस्रो तथा काठमाडौंका रिकेश च्यामे तेस्रो बने। सर्ट वेपनमा गोर्खाका सागर दोस्रो र काठमाडौँका अमोद तेस्रो स्थानमा रहे। जुनियर महिलाको बेयर ह्यान्डमा काठमाडौंकी यौकी गुरुङले शीर्ष स्थान हात पारिन् ।

प्रतियोगितामा विभिन्न १६ जिल्लाका १ सय ८० खेलाडीले सिनियर र जुनियरमा गरी ४४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको सह-आयोजक मार्सल आर्ट्स अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनले जनाएका छन्। प्रतियोगिता आइतबार सम्पन्न हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *