कान्तिपुर हाफ म्याराथनको १२ औं संस्करणको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका दिपक अधिकारी र महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जितेकी छन् । 

कान्तिपुर हाफ म्याराथनको महिलातर्फ राजपुरा पछाईंले ह्याट्रिक गरेकी छिन्। उपाधिमा ह्याट्रिक गर्ने क्रममा राजपुराले निर्धारित दुरी १ घन्टा २२ मिनेट २५ सेकेन्डमा पुरा गरिन्।

उपाधिका ह्याट्रिक गरेपनि राजपुराले समयमा भने सुधार गर्न सकिनन्। अघिल्लो वर्षभन्दा उनी ३ मिनेट ९ सेकेन्डपछि परिन् ।

यस्तै, पुरुषतर्फ उपाधि जितेका दीपकले १ घन्टा ७ मिनेट १५ सेकेन्डको समय निकाल्दै गत वर्षको विजेता मुकेश पाललाई ४४ सेकेन्डले पछाडि पारे। आर्मीका मुकेश १ घन्टा ७ मिनेट ५९ सेकेन्डका साथ दोस्रो भए।

म्याराथनका दुवै तर्फका विजेताले पुरुष र महिला विजेताले जनही १ लाख पाए भने दोस्रोदेखि छैटौं हुनेले क्रमशः ५०, ३०, २०, १० र ५ हजार रुपैयाँ पाएका छन्।

कान्तिपुर पब्लिकेशनको आयोजना र ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथन थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भएको कान्तिपुर हाफ म्याराथन थापाथली, माइतीघर मण्डल, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली गठ्ठाघर, थिमि, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर मण्डल हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *