सुन्दरहरैंचा नगरपालिकास्थित अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि सुन्दरहरैंचा नगरपालिकाले जितेको छ ।

नगर खेलकुद विकास समितिद्वारा आयोजित सुकुना माविको खेल मैदानमा शनीवार भएको फाइनलमा लेटाङ नगरपालिकालाई पराजित गर्दै सुन्दरहरैंचाले उपाधि उचालेको हो । सुन्दरहरैंचाले लेटाङलाई पहिलो सेटमा २५-१० र दोस्रो सेटमा २५-१४ साथै तेस्रो सेटमा २५-१५ ले पराजित गरेको थियो । खेलमा रतुवामाही नगरपालिका भने तेस्रो भएको छ ।

मोरङका आठ पालिकाको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने सुन्दरहरैंचा नगरपालिकाले रू ६७ हजार पाँच सय तथा दोस्रो हुने लेटाङ नगरपालिकाले रू ३३ हजार सात सय ५० का साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको फाइनलमा मोरङ जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राई, आयोजक समितिका अध्यक्ष तथा नगर प्रमुख केदारप्रसाद गुरागाई, नगर उपप्रमुख अकली चौधरी, समितिका सदस्य सचिव खड्गबहादुर श्रेष्ठलगायतले विजेता उपविजेता र उत्कृष्ट भएका खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

तीन दिनसम्म सञ्चालन भएको जिल्लाको पहिलो पालिका स्तरीय महिला भलिबल प्रतियोगितामा लेटाङ, सुन्दरहरैंचा, पथरी, बुढीगङ्गा, रतुवामाई, कानेपोखरी, बेलबारी, केराबारीलगायतका पालिकाका टिमहरूले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *