विराटनगरमा टी-१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ। बिराटनगर-६ स्थित म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा उक्त क्रिकेट प्रतियोगिता सञ्चालन हुनेछ ।
विराटनगर महानगरपालिका वडा नम्बर ६ को आयोजना सो प्रतियोगिता आगामी जेठ १२ देखि २९ गतेसम्म सञ्चालन हुने छ। प्रतियोगितामा नेपालका विभिन्न आठ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ।
वडा नम्बर ६ का वडाध्यक्ष हरिश्चन्द्र सहनीले पत्रकार सम्मेलनको आयोजना गरेर टी-१० च्याम्पियनसिप प्रतियोगिता पहिलोपटक सञ्चालन हुन लागेको बताए । उनले प्रतियोगितालाई सफल बनाउन सबैबाट सहयोगको अपेक्षा गरेको बताए।
अध्यक्ष सहनीका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले नगद पाँच लाख पुरस्कार प्राप्त गर्नेछ। दोस्रो हुने टिमले दुई लाख, तेस्रो हुने टिमले एक लाख र चौथो हुने टिमले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।
खेल दिवा र रात्रिकालीन समयमा सञ्चालन हुने छ। खेलको प्रत्यक्ष प्रसारणको तयारीसमेत गरिएको आयोजकले बताएको छ।
