काठमाडौं । टोखा नगरपालिकाको आयोजनामा दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता भोलि शुक्रबारदेखि हुने भएको छ ।

यहि पुस १९ र २० गते हुने तेक्वान्दो प्रतियोगिता जिल्ला समन्वय समिति काठमाडौँको संयोजन र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा टोखा नगरपालिकाको वडा नम्बर ५ को प्राङ्गणमा हुने भएको हो ।

वरियता सहितको खुल्ला लिग तेक्वान्दो प्रतियोगितामा पुरुष ५ तथा महिला ५ गरी जम्मा १० तौल समूहमा प्रतिस्पर्धा हुने बताइएको छ । प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १० अंक, ७ अंक र ३ अंक प्रदान गरिने छ ।

प्रतियोगिताअन्तर्गत पुरुषमा ४६-५०, ५०-५४, ५४-५८, ५८-६३ र ६३-६८ तथा महिलातर्फ ४०-४३, ४३-४६, ४६-४९, ४९-५३ र ५३-५७ केजी तौल समूहमा प्रतिस्पर्धा हुने काठमाडौँ जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले बताए ।

तीन-तीन महिनाको अवधिमा सञ्चालन गर्ने गरी सुरुआत गरिएको लिगको तेश्रो संस्करण फागुन र चौथो संस्करण जेठमा हुने आयोजकले जनाएको छ । पहिलो संस्करण स्युचाटारस्थित नागर्जुन कभर्डहलमा गत भदौमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *