नवलपुरमा भएको ‘गैंडाकोट हाफ म्याराथन-२०२४’ को उपाधि त्रिभुवन आर्मी क्लबका मुकेशबहादुर पालले जितेका छन् ।

सोमबार भएको प्रतियोगितामा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीलाई पछि पार्दै आर्मीका पालले उपाधि जितेका हुन् । पालले निर्धारित २१ किलोमिटर दूरी १ घण्टा १६ मिनेट ८ सेकेन्डमा पूरा गरेका थिए । दोस्रो भएका एपीएफका पार्कीले निर्धारित दूरी एक घण्टा १७ मिनेट ४३ सेकेन्डमा पूरा हुन् ।

यसैगरी, त्रिभुवन आर्मीकै धावक नरेन्द्र सिंह रावत तेस्रो भएका छन् । रावतले निर्धारित दूरी १ घण्टा १८ मिनेट ५१ सेकेन्डमा पार गरेका थिए । प्रतियोगितामा प्रथम भएका पालले एक लाख पुरस्कार प्राप्त गरे ।

यस्तै, दोस्रो भएका एपीएफका पार्कीले ५० हजार र तेस्रो भएका आर्मीका रावतले २५ हजार रुपैयाँ प्राप्त गरेको आयोजक विजय फाउन्डेसन नेपालका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । दोस्रो संस्करणको प्रतियोगितामा देशभरका एक सय ४१ धावकको सहभागिता थियो ।

प्रतियोगितामा महिलातर्फको उपाधिसमेत त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले जितिन् । उनले २१ किलोमिटरको दूरी एक घण्टा ४८ मिनेट ४६ सेकेन्डमा पूरा गरिन् ।

यस्तै, नवलपुरको गैंडाकोट-६ की अनु मगर २ घण्टा ४१ मिनेट पाँच सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो हुँदा चितवनको कालिका-८ की सुनिना मगरले तीन घण्टा एक मिनेट ३७ सेकेन्डमा दूरी पार गरी तेस्रो भएकी छिन् ।

पहिलो भएकी न्यौपानेले ५० हजार रुपैयाँ पुरस्कार पाउँदा दोस्रो भएकी अनु र तेस्रो भएकी सुनिनाले क्रमशः १५ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *