विराटनगर महानगरपालिका वडा नं. १९ स्थित वैजनाथपुरमा पौने ३ अर्बको लागानिमा गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने भएको छ ।

वैजनाथपुरको १०.३२ हेक्टर जग्गामा राष्ट्रिय खेलकुद परिषदले रंगशाला बनाउन लागेको हो । प्रस्तावित क्रिकेट रंगशाला बहुउपयोगी सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको बन्ने छ । जसमा १० हजार सिट क्षमताको क्रिकेट मैदान, ५ हजार सिट क्षमताको एथलेटिक्स ट्र्याक, फुटबल र रग्बी रंगशालासमेत रहने छ ।

यसबाहेक प्याभेलियन, बहुउपयोगी कभर्ड हल, गार्ड हाउस, टिकट काउन्टर, अभ्यास नेट, होस्टल ब्लक, रेस्टुरेन्ट, स्विमिङ पुल, जिम हल, खेलाडी ब्लक, पार्किङ क्षेत्र, बाटो र हरियाली क्षेत्रजस्ता संरचना बन्नेछन् ।

रंगशाला समुन्द्री सतहबाट ९२ मिटर उचाइमा बन्नेछ । रंगशाला निर्माणका लागि १०.३२ हेक्टर जमिन आवश्यक हुनेछ । १.५ किलोमिटर चौडा पहुँच सडक स्तरोन्नति गरिनेछ भने १ हजार रुखविरुवा रोपण १४ हजार ४ सय ८४ वर्गमिटर घाँस रोपण गरी हरियाली गरिने छ ।

मुख्य संरचनामा १४८ मिटर लम्बाइ र १४८ मिटर चौडाइ ठाउँमा १३८ मिटरको क्रिकेट मैदानमा बन्नेछ । जसअनुसार सबैभन्दा बाउन्ड्रीको दुरी ६९ मिटर हुनेछ । मैदानमा कुल ५ वटा पिच बन्नेछन् ।

क्रिकेट रंगशालामा ९ हजार ४९० वटा साधारण सिट, ३५० भीआईपी र ६० भीभीआईपी सिट हुनेछन् । यसैगरी २५ मिटर लम्बाइ र २५ मिटर चौडाइको स्विमिङ पुल र २८५० वर्गमिटरमा १५०० सिट क्षमताको कभर्ड हल पनि निर्माण हुनेछ ।

यसैगरी १०५ मिटर लम्बाइ र ६८ मिटर चौडाइको फुटबल तथा रग्बी मैदान पनि तयार हुनेछ भने ४०० मिटरको ८ लेन एथलेटिक ट्र्याक निर्माण हुनेछ ।

रंगशालामा १ हजार ८ सय १७ वटा दुईपांग्रे र २ सय ९५ वटा चारपांग्रे सवारी साधान पार्किङ क्षेत्र निर्माण हुने छ। आयोजनको कुल लागत २ अर्ब ७९ करोड ७४ लाख ११ हजार ३ सय ७४ रुपैयाँ रहेको छ।

यो मैदानमा हाल पनि घरेलु क्रिकेट प्रतियोगिताहरु सञ्चालन भइरहेका छन् ।

निर्माण कार्य ३ वर्षमा सम्पन्न हुने र लगानीको प्रतिफल ८-१० वर्षभित्र पाउने लक्ष्य राखिएको छ । यसले क्षेत्रीय, राष्ट्रिय, तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सञ्चालन गर्न सहयोग पुर्याउनेछ । रंगशालाले नेपालमा खेल पर्यटनको प्रवर्द्धन, खेलकुद पूर्वाधारको विस्तार, रोजगारी सिर्जना, सामाजिक सद्भाव, र राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *