नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवशको उपलक्ष्यमा आयोजना भएको नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालले जितेका छन्।
उनले बुधबार भएको फाइनलमा क्याण्डीडेट मास्टर मिलन लामासँगको क्लासिकलतर्फको पहिलो र दोस्रो खेल बराबरी खेलेका थिए।
क्लासिकलमा १-१ को बराबरीले नतिजा नआएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। जैसवालले द्रुतगतिको ५-५ मिनेटको खेलमा सेतो र कालो गोटीको दुबै खेलका मिलनलोई पराजित गरि २ – ० को नतिजा आत्मसात गर्दै यामाहा सेलुटो २ लाख ५३ हजार बराबरको मोटरसाइकल हात पारे।
लामो समय पछि खेलमा फर्केका युवा खेलाडी मिलन लामाले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेर फाइनलसम्म स्थान बनाए पनि उप-विजेतामा नै चित्त बुझाउन बाध्य भए। उनले नगद पुरस्कार ८० हजार पाए।
अर्का फिडे मास्टर क्षितिज भण्डारी तेस्रो स्थानमा रहे। उनले नगद ५० हजार हात पार्न सफल भए । क्षितिजले तेस्रो स्थानको लागि भएको खेलमा यु-१६ का राष्ट्रिय विजेता पुरुषोत्तम सिलवाललाई १.५ – ०.५ को सोझो सेटमा पन्छाएका थिए।
चौंथो स्थानमा रहेका पुरुषोत्तमले नगद ३० हजार हात पारे। नकआउटक बाहेक लिग तर्फमा पनि पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा स्वीस लिग अनुसार नवौं चरणसम्म भएको खेलमा आयोजक क्लबका सजिन महर्जनले प्रथम स्थान ओगटे । उनले नगद २५ हजार पाउन सफल भए भने दोस्रो हुन सफल भएका सर्लाहीका कमल श्रेष्ठले १५ हजार पुरस्कार हात पारे। तेस्रो स्थान हात पारेका निकेश कुशाथाले १० हजार पाए।
कुल नगद पुरस्कार ६ लाख ३५ हजार भएको प्रतियोगितामा चौंथौ स्थानमा शैलेन्द्र कुमार न्यौपाने र झापाका राजन सुवेदी पाँचौमा रहे। छैटौं देखि दशौंमा क्रमशः तनहुँका सविनचन्द्र घिमिरे, काठमाडौका राजेन्द्र बज्राचार्य, बद्रीलाल नेपाली, सुदिप तामाङ र केशव श्रेष्ठ रहे।
महिलातर्फको उपाधि पूर्व महिला राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशीले हात पारिन् । उनले १० हजार नगद हात पारिन्। दोस्रो र तेस्रो स्थानमा मोरङकी शान्ति धिमाल र काठमाडौंकि पुर्णिमा गुरुङ रहिन्।
नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सम्पन्न भएको प्रतियोगितामा ४० जिल्लाका ११२ जना राष्ट्रिय शीर्ष खेलाडी सहभागी थिए ।
लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनको सभापतित्वमा भएको समापन तथा पुरस्कार वितरण समारोहमा विजेता खेलाडीहरुलाई पुर्व अर्थमन्त्री ङा. प्रकाश शरण महत, बागमती प्रदेशका मन्त्री रामकृष्ण चित्रकार, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन लगायतले पुरस्कार वितरण गरे।
यो प्रतियोगिताको दशौं संस्करण २०८२ वैशाख महिनामा आयोजना गर्ने कार्यक्रमका संयोजक राजु ताम्राकारले जानकारी दिए।
