राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१औं वार्षिकोत्सवमा करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ वर्षका उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन्।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बुधवार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड प्रदान गरे।

एरिकाले गत वर्ष चीनको हाङजाउमा भएको १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन्। त्यस्तै उनले १०औं सितोरियो कराते विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्।

स्यान्टु पेरिस ओलम्पिक्समा छनोट हुने तेस्रो नेपाली खेलाडी हुन्। स्यान्टु अष्ट्रेलियामा रहेको कारण उनको बुवाले अवार्ड ग्रहण गरे। एरिका र स्यान्टु दुवैले समान १ लाख रुपैयाँ प्राप्त गरे ।

वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्डबाट पलेशा गोवर्धन सम्मानित भएकी छिन्। उनले गत वर्ष १९औं पारा एसियली खेलकुदमा ऐतिहासिक कास्य जितेकी थिइन्। उनी पारा एसियन खेलकुदमा पदक जित्ने पहिलो खेलाडी बनेकी थिइन्। उनी पेरिस पारालिम्पिक्समा छनोट हुन सफल भएकी थिइन्। उनलाई ५० हजार रुपैयाँ प्रदान गरियो।

पेरिस पारालिम्पिक्समा पहिलो पटक कास्य पदक जित्दै नेपाललाई अहिलेसम्म कै ठीलो पदक दिलाएकी पलेशाको अभिभावकलाई सो अवसरमा पनि सम्मान गरियो। यसैगरी ऐतिहासिक पदक विजेता पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि सम्मान गरिएको छ।

वर्ष उत्कृष्ट महिला जुनियर खेलाडीबाट एथलेटिक्सका देवकी कुमारी धामी र वर्ष उत्कृष्ट पुरूष जुनियर खेलाडीबाट क्रिकेटका दिपेश कडेल सम्मानित भएका छन। उनीहरुले समान २५ हजार रुपैयाँ प्राप्त गरे।

नेपाल कराते महासंघ उत्कृष्ट संघ बनेको छ। नेपाल कराते महासंघलाई कदर पत्र प्रदान गरिएको थियो। पत्रकारिता अवार्डबाट नागरिक दैनिकका अनिल मल्ल ठकुरी र अनलाइन खबरकी नमिता दाहाल सम्मानित भए।

यसैगरी करार सेवा पुरस्कारबाट प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भए। सूर्य नेपाल प्रालिलाई उत्कृष्ट प्रायोजकको रूपमा सम्मान गरिएको छ। सूर्य नेपालले सन् १९९३ देखि प्रोफेसनल गल्फलाई प्रायोजन गर्दै आएको छ।

यसैगरी टेबल टेनिस प्रशिक्षक राजेन्द्र कपाली उत्कृष्ट परिषद सेवा पुरस्कार, कबड्डीका प्रशिक्षक विष्णुदक्त भट्ट, प्रशासकीय अधिकृत हिरा प्रसाद पौडेलले सर्वोत्कृष्ट परिषद सेवा पुरस्कार, बलराम लामा र दुर्गादेवी बस्नेत परिषद सेवा पुरस्कार तथा कृष्ण घिमिरेले करार सेवा पुरस्कार प्राप्त गरे।

कार्यक्रममा राखेपका पूर्व सदस्य सचिवहरुलाई पनि सम्मानगरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *