नेपाली महिला राष्ट्रिय भलिबल टोलीबाट मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले डेब्यू गरेका छन् ।
बिहीबारदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा सुरु भएको काभा महिला नेसन्स लिगमा राष्ट्रिय टिमबाट रेग्मी र सुवेदीले डेब्यू गरेका हुन् । पहिलोपटक राष्ट्रिय टिममा परेका रेग्मी र सुवेदीले यसअघि रसियाविरुद्धको मैत्रीपूर्ण खेल खेलेका थिए ।
दुई वर्षअघि मात्रै न्यु डायमन्ड भलिबल क्लबबाट आधारभूत भलिबल प्रशिक्षण लिएर करिअर सुरु गरेकी रेग्मीले छोटो समयमै राष्ट्रिय टिममा स्थान बनाएकी हुन् । सन् २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि आरती बन्द प्रशिक्षणमा परे पनि टिममा पर्न असफल भएकी थिइन् ।
आरती क्लब भलिबल त्रिभुवन आर्मी क्लबबाट खेल्छिन् । श्रीलंकाविरुद्धको खेलमा सुमित्रा र आरती दुवैले राम्रो प्रदर्शन गरेका छन् ।
