विराटनगर । आसन्न दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशबाट शारीरिक सुगठनतर्फ ६ जना खेलाडी छनोट भएका छन् । मंगलबार विराटनगरमा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट विभिन्न तौल समूहका ६ खेलाडीले राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने अवसर पक्का गरेका हुन् ।

छनोट हुने खेलाडीमा ५५ केजी तौल समूहबाट सुनसरीका बिजु लिम्बू, ६० केजीमा मोरङका सौरभ राज मगर र ६५ केजीमा सुनसरीका उत्तम खत्री रहेका छन् । त्यसैगरी, ७० केजी तौल समूहमा मोरङका हर्कबहादुर मगर, ८० केजीमा मोरङकै दीपक तिमिल्सिना र ८५ केजीमा ललित धिमाल प्रथम हुँदै राष्ट्रिय खेलकुदका लागि छनोट भएका हुन् ।

विराटनगरस्थित कञ्चनजङ्घा पार्टी प्यालेसमा आयोजित कार्यक्रमको अध्यक्षता कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य तथा प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिताका संयोजक पवित्रराम थापाले गरेका थिए ।

कार्यक्रममा बोर्डका सदस्य सचिव विप्लव घोषले यसपटक शारीरिक सुगठनमा कोशी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । प्रदेशबाट छनोट भएका खेलाडीको क्षमता र तयारीलाई हेर्दा राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा आउने अपेक्षा गरिएको उनको भनाइ थियो ।

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनका प्रतिस्पर्धा आगामी मंसिर ११ र १२ गते सञ्चालन हुनेछन् । राष्ट्रिय प्रतियोगितालाई लक्षित गर्दै कोशी प्रदेशले विभिन्न तौल समूहका उत्कृष्ट खेलाडी छनोट गरी सहभागिताको तयारी गरेको हो ।

छनोट भएका खेलाडीले राष्ट्रिय मञ्चमा आफ्नो व्यक्तिगत क्षमता प्रदर्शनसँगै कोशी प्रदेशको पदक लक्ष्यलाई समेत प्रतिनिधित्व गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *