बुटवल । विभागीय टोलीको नेपाल पुलिस क्लब, खैरा भलिबल क्लब पन्जाब र सभापोखरी भलिबल क्लब बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा बुधबार भएको समूह ‘ए’ को अन्तिम खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबलाई ३–२ को सेटमा हरायो । रोमाञ्चक खेलमा पुलिसले मणिमुकुन्द २५–२०, २३–२५, २५–२०, १८–२५, १५–१२ को जित निकालेको हो । लगातार तेस्रो जित निकालेको पुलिस समूह विजेता बन्यो ।
यस समूहबाट खैरा भलिबल क्लब उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । बिहीबार नै भएको खेलमा खैराले श्रीलंका पुलिस क्लबलाई ३–१ को सेटमा हरायो । खैराले श्रीलंका पुलिसमाथि २५–२०, २५–२०, १९–२५, २५–१७ को जित निकालेको हो । हारसँगै मणिमुकुन्द र श्रीलंका पुलिस प्रतियोगिताबाट बाहिरिएको छ ।
यस्तै समूह ‘बी’ को खेलमा लगातार दोस्रो जित निकाल्दै सभापोखरी भलिबल क्लब सेमिफाइनलमा पुग्न सफल भयो । सभापोखरी क्लबले एपिएफ क्लबलाई ३–१ को सेटमा हरायो । भारतीय खेलाडीको साथ पाएको सभापोखरीले एपिएफमाथि २४–२६, २५–१९, २५–२०, २०–११ को जित निकालेको थियो ।
यस्तै, दिनको अन्तिम खेल भने पूरा हुन सकेन। एपीएफ र गुजरात स्पोर्टिङ क्लबबीचको लिग चरणको अन्तिम खेलमा दुवै टोलीले समान १–१ सेट जितेपछि सहमतिमै खेल स्थगित गरिएको हो।
दुवै टोलीले बाँकी खेल भोलि पूरा गर्ने सहमति गरेसँगै सेमिफाइनल पुग्ने एक टोलीको टुंगो लाग्न बाँकी छ। सेमिफाइनलका खेल पनि भोलि नै हुनेछन्।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा विदेशका तीन र नेपालको चार गरी सात टोलीले भाग लिएका थिए । असोज १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले रनिङ्ग शिल्डसहित सात लाख रुपैयाँ र उपविजेताले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
यस्तै तेस्रो हुनेलाई एक लाख ७५ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार स्वरुप ७५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जानकारी दिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, ब्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही आठ हजार रुपैयाँसहित सम्मान गरिने छ ।
