काठमाडौं । नेपालका नम्बर एक खेलाडी वाङचु तामाङ लगातार दोस्रो जितसहित प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियन्सीपको क्वाटरफाइनलमा पुग्न सफल भएका छन् ।
काठमाडौँ खेल मण्डल (एनआरटी) को आयोजनामा त्रिपुरेश्वरस्थित क्लबकै भवनमा भएको प्रतियोगिताको पाँचौँ दिन आइतबार तामाङले बेस्ट अफ सेभेनअन्तर्गतको खेलमा सविन तामाङलाई ४–१ ले हराए ।
उनले यसअघि, विनेद श्रेष्ठलाई पराजित गर्नुभएको थियो । विकास महर्जन पनि समूह चरणमा आफ्नो अन्तिम खेलमा आयुष गौतमलाई ४–२ ले हराएर क्वाटरफाइनलमा पुगे ।
पहिलो खेलमा राजन गुरुङसँग हारेपछि विकासले शनिबार अमन कार्कीलाई हराउनुभएको थियो ।
आकास गजमेर समूह चरणमा तीनै खेल जितेर नकआउटमा पुगे । उनले समूह चरणमा आफ्नो अन्तिम खेलमा जय महर्जनलाई ४–१ ले निराश बनाए ।
यस प्रतियोगितामा नेपालका शीर्ष १५ खेलाडीका साथै आयोजकका एक खेलाडीको पनि सहभागिता रहेको छ ।
प्रतियोगितामा १६ जनालाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुई खेलाडी क्वाटरफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको छ ।
