काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट संघले आयोजना गर्ने ‘राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप–२०२६’ जेठ ३० गते आयोजना हुने भएको छ ।
मंगलबार पत्रकार सम्मेलनमार्फत नेपाल क्लाइम्बिङ स्पोर्ट संघले नेपालमा स्पोर्ट क्लाइम्बिङसहित साहसिक खेलकुद तथा खेल पर्यटनको विकास र प्रवर्द्धनका लागि विभिन्न प्रतियोगिता तथा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । प्रतियोगिता काठमाडौंको कालधारा, ठमेलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा हुनेछ ।
प्रतियोगिता क्वालिफिकेसन र फाइनल राउन्ड गरी दुई चरणमा सम्पन्न हुनेछ । बोल्डरिङ विधामा मात्र आयोजना हुने भएकाले प्रतियोगिता एकदिने रहनेछ । राष्ट्रिय प्रतियोगिता भएकाले सातवटै प्रदेशबाट प्रतिनिधित्व हुने गरी १७ वर्ष वा सोभन्दा माथिका इच्छुक खेलाडीहरूले सहभागिता जनाउन सक्नेछन् ।
पुरुष तथा महिला दुवै समूहका क्वालिफिकेसन र फाइनल चरणका प्रतिस्पर्धा सञ्चालन हुनेछन् । क्वालिफिकेसन चरणबाट महिला र पुरुषतर्फ समान ८–८ जना खेलाडी फाइनल चरणका लागि छनोट हुनेछन् । फाइनल चरणको प्रतिस्पर्धापछि उत्कृष्ट प्रदर्शन गर्ने महिला तथा पुरुष खेलाडीहरूलाई प्रथम ३० हजार, द्वितीय २० र तृतीय १० स्थानका विजेताले पाउनेछ ।
प्रतियोगिताको मुख्य उद्देश्य क्लाइम्बिङ खेलसँग आबद्ध खेलाडी, प्रशिक्षक, प्राविधिक तथा साहसिक खेल क्षेत्रमा संलग्न व्यक्तिहरूको मनोबल उच्च राख्दै यस क्षेत्रको विकास र प्रवर्द्धन गर्नु रहेको छ । साथै साहसिक खेलकुद तथा पर्यटनको प्रचार–प्रसारमार्फत राष्ट्रिय अर्थतन्त्र र राजस्व वृद्धिमा योगदान पुर्याउने लक्ष्य पनि प्रतियोगिताले लिएको आयाेजकले जनाएकाे छ ।
