प्रहरी टिम च्याम्पियन

२०८३, २५ जेष्ठ सोमबार ०९:०७

काठमाडौं । नेपाल प्रहरी तेश्रो नेपाल अक्वाटिक्स काठमाडौं महानगर मेयर कप पौडी प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । प्रहरी १ हजार ३६ अंक जोड्दै टिम च्याम्पियन बनेको हो ।

काठमाडौं महानगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल पौडी संघको आयोजनामा भएको प्रतियोगितामा ७ सय ७८ अंकसहित निसर्ग वाटिका स्कुल दोश्रो भयो । तेश्रो स्थानको एपिएफ क्लबले ५ सय ७६ अंक जोड्यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे ।

सातदोबाटोस्थित आउडडोर पौडी पोखरीमा भएको प्रतियोगिताको पुरुषमा एपीएफका जोडेन श्रेष्ठ र प्रहरीका इर्भिन श्रेष्ठ तथा महिलामा प्रहरीकी देभान्सी जोशी उत्कृष्ट खेलाडी घोषित भए । जाडेन र इर्भिनले समान ३–३ स्वर्ण तथा देभान्सीले ९ स्वर्ण र २ कांस्य जिते । उत्कृष्ट खेलाडीले जनही १५ हजार नगद पुरस्कार पाए ।

दुईदिने प्रतियोगितामा जम्मा ९ राष्ट्रिय कीर्तिमान बने । जाडेन श्रेष्ठले ३ तथा देभान्सी जोशी, सिशम्भुन राई, इरा अमात्य, सौरेनबहादुर सिंह, अभिभ प्रधान र डुवाना लामाले १–१ राष्ट्रिय कीर्तिमान बनाए । प्रत्येक कीर्तिमानका लागि ५ हजार नगद पुरस्कार प्रदान गरियो ।

विजेतालाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, प्रतियोगिता संयोजक उमेश प्रधानलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ९४ पुरुष तथा ७८ महिला गरी १ सय ७२ खेलाडीले प्रतिस्पर्धा गरेको पौडी संघका सचिव गंगालाल गोलेले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *