पोखरा । आयोजक टिम सहारा क्लबले २५औंआहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको छ ।
पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सहाराले १२ वर्षपछि आफ्नै घरेलु मैदानमा ऐतिहासिक सफलता हात पारेको हो ।
उपाधिसँगै सहाराले नगद १४ लाख १ हजार, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । उपविजेतामा चित्त बुझाएको जावलाखेलले नगद ७ लाख १ हजार, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ ।
खेलको २५औं मिनेटमा मुकुन्द कुमार नुइरेको गोलमा सहाराले अग्रता लिएको थियो । सहाराका क्याप्टेन सुशील लामाले प्रहार गरेको कर्नर किकलाई हेड मार्फत मुकुन्दले जाली चुमाए ।
पहिलो हाफमा १-० अग्रता बनाएको सहाराले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ७३औं मिनेटमा विदेशी खेलाडी ताए डायनियल बादारुले सहाराका लागि दोस्रो गोल गरे । सुशील लामाले दिएको क्रसलाई उनले हेड मार्फत गोल गर्दै सहाराका लागि दोसो गोल गरे ।
फाइनल खेलको म्यान अफ दि म्याच सहारा क्लबका सुशिल लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सहारा क्लबका मुकुन्द नुइरे बन्न सफल भए । उनले टेलजिको स्कुटर पुरस्कार जित्न सफल भए ।
त्यसैगरी, उत्कृष्ट गोलकिपर सहारा क्लबका टिकेन्द्र थापा, उत्कृष्ट मिडफिल्डर जाउलाखेलका बबाकुर सिका, उत्कृष्ट डिफेन्डर सहारा क्लबका ताए डायनियल बादारु, उत्कृष्ट फरवार्ड जाउलाखेलका धमेन्द्र कुँबर, सर्वाधिक गोल कर्ता प्लानिङ ब्वाइज युनाइटेडका पापा युवुवा केबे, उत्कृष्ट प्रशिक्षक सहारा क्लबका सुनिल रानामगर भए भने उदयीमान खेलाडी सहारा क्लबका मुकुन्द नुइरे भए । उनीहरुले जनही २५ हजार पुरस्कार र ट्रफी पाए ।
प्रतियोगिताको फेयर प्ले टिमको अवार्ड उज्वेकिस्तानको आभा एफसीले हात पार्यो । विजेता तथा उपविजेतालाई गण्डकी प्रदेशका सामाजीक तथा खेलकुद मन्त्र विन्दुकुमार थापा, हिमश्री फुड्स प्रालिका निदेशक प्रकास केसी, किरण केसी, टेलजी स्कुटर नेपाल वितरक सञ्जिब शिल्वाल लगायतले वितरण गरेका थिए ।
माघ २७ गतेदेखि सुरु भएको प्रतियोगितामा ३ विदेशी टोलीसहित कुल १२ टिमको सहभागिता रहेको थियो ।
