सुनसरी । सुनसरीको दुहबीमा जारी ११औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगितामा चात्या सा फुटबल क्लब, दमक, झापा फाइनलमा प्रवेश गरेको छ ।
बिहिवार भएको पहिलो सेमिफाइनल खेलमा मेमोरी युवा क्लब, सोनापुर, सुनसरीलाई २-१ ले पराजित गर्दै चात्या सा उपाधि नजिक पुगेको हो ।
खेलको पहिलो हाफको १९औं मिनेटमा राजेश दाहालले गोल गर्दै चात्या सालाई सुरुआती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफ सुरु भएको नवौं मिनेटमा पुजन थापाले मेमोरीका लागि बराबरी गोल फर्काए । त्यसपछि दोस्रो हाफको २८औं मिनेटमा नाइजेरियन खेलाडी ड्यानियल ताएले निर्णायक गोल गर्दै चात्या साको जित सुनिश्चित गरे ।
खेलको म्यान अफ दि म्याच पनि ताए नै चुनिए । उनले नगद ५ हजार रुपैयाँसहित मेडल प्राप्त गरे । भोलि शुक्रबारको दोस्रो सेमिफाइनल खेल आयोजक गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरी र जस्टीन एफसी, नाइजेरियाका बीच हुने आयोजकले जनाएको छ ।
फागुन ९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै खेलमा बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुलाई आकर्षक पुरस्कार पाउने आयोजकले जानकारी गराएको छ ।
