काठमाडौं । थापाथली चेस पार्कमा आयोजना भइरहेको इको पानल रापिड १७०० रेटिङ मुनिको चेस प्रतियोगितामा अजिज क्षेत्री र रमेशबिर मालीले समान ५ अंक जोडेर संयुक्त अग्रता लिएका छन् ।

नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा बुधबार चलेको पाँच चरणका खेलमा सबै प्रतिद्वन्द्वी माथि हाबी बन्दै १६७६ रेटेड नवलपरासीका खेलाडी अजिज र १६९६ रेटेड काठमाडौंका रमेशबीर शीर्ष स्थान कब्जा जमाएका छन् ।

नेपाल इको पानल प्रमुख प्रायोजन रहेको प्रतियोगितामा ४.५ अंकका साथ १६८३ रेटेड मोरङका भरत धिमाल, १६२५ रेटेड काठमाडौंका गोविन्द खड्का, १६५७ रेटेड बझाङका जनक राज जोशी, १६८८ रेटेड झापाका उज्वल दाहाल र अनरेटेड सुनसरीका नारायण हरि श्रेष्ठ संयुक्त दोस्रो स्थानमा छन् ।

फाल्गुण ६ र ७ गते दुई दिन सञ्चालन हुने प्रतियोगितामा १७०० भन्दा कम रेटिङ भएका १४८ जना खेलाडीहरू बीच स्विस लिग प्रणाली अनुसार ९ चरणको खेल सञ्चालन हुनेछ । स्पर्धाको प्रत्येक खेलमा एक खेलाडीले १० मिनेट पाउने छन् भने प्रति चाल पछि १० सेकेन्ड इन्क्रिजमेन्टको अन्तराष्ट्रिय समय मापदण्डको व्यवस्था गरिएको छ । इको पानल बुद्धिचाल प्रतिस्पर्धामा विजेता खेलाडीलाई कूल नगद रु. ५१,००० पुरस्कार प्रदान गरिने छ ।

जसमा प्रथम हुनेले रु. १० हजार र ट्रफी, द्वितीयले रु. ७ हजार र ट्रफी, तृतीयले रु. ५ हजार र ट्रफी, चौथोले रु. ४ हजार, पाँचौंले रु. ३ हजार, छैटौं देखि दशौं: जनही रु. २ हजार प्राप्त गर्ने छन् । यसैगरी विधागत तर्फ उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान ५५ वर्ष माथि, उत्कृष्ट अनरेटेड, उत्कृष्ट यु–१६, यु–१४, यु–१२ तथा रेटिङ १६ सय र १५ सय मुनिका खेलाडीलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिता पूर्व नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र तिन पटकका नेपाल च्याम्पियन बद्रीलाल नेपालीले खेल शुभारम्भ गरेका हुन् । यस खाले प्रतियोगिताले नयाँ तथा उदीयमान खेलाडीहरूलाई अन्तर्राष्ट्रिय रेटिङको अवसर प्रदान गर्नुका साथै नेपाली चेसको स्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास संयोजक सानुराज बज्राचार्यले व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *