उज्वेकिस्तानको एभीए एफसी पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको २५औँ संस्करणमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मंगलबार सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा नेपालको प्लानिङ ब्वाइज युनाइटेडलाई १-० ले स्तब्ध बनाउँदै एभीए एफसीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा एभीए एफसीले आक्रामक खेल पस्कियो . खेलको ५६औं मिनेटमा उमिदजोन कारिलोभ ले निर्णायक गोल गर्दै टिमलाई अग्रता दिलाए । सोही गोल नै जितका लागि पर्याप्त बन्यो। यता, खेलभरि गोल गर्ने केही सुन्दर अवसरहरू सिर्जना गरे पनि प्लानिङ बोइजले त्यसलाई सदुपयोग गर्न सकेन र प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

खेलको म्यान अफ दि म्याच निर्णायक गोलकर्ता उमिदजोन कारिलोभ घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । भोली (बुधबार) आयोजक सहारा क्लब पोखरा र मनाङ मर्स्याङदीका पहिलो सेमीफाइनल खेल हुनेछ ।

फागुन ९ गतेसम्म चल्ने प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १४ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५–२५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ । साथै, सर्वाधिक गोलकर्तालाई पनि नगद २५ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *