काठमाडौं । नेपाल हक्की संघको आयोजनामा दोश्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
नेपाल हक्की संघले शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको दोस्रो संस्करण फागुन ४ गते सोमबारदेखि ११ गतेसम्म संचालन हुने जानकारी गराएको हो ।
प्रतियोगितामा पुरुषतर्फ गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम, बागमती प्रदेश र नेपाल पुलिस क्लब गरी ६ टिमको सहभागीता रहने पत्रकार सम्मेलनमा संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
महिलामा गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम र वाग्मती प्रदेशसहित ५ टिमको सहभागिता रहने छ । राउन्ड रोविन लिगपछि शीर्ष २ स्थानमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।
दुवै समूहमा शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने आयोजक संघका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए । उत्कृष्ट खेलाडीलाई ५ हजार तथा प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २ हजार नगदबाट पुरस्कृत गरिने छ ।
महासचिव श्रेष्ठले यसै प्रतियोगिताबाट राष्ट्रिय टिमको छनोट गरी प्रशिक्षणका लागि आवश्यक प्रबन्ध मिलाइने बताइन् । श्रेष्ठले ग्रासरुट तहदेखिनै हक्कीको विकास गर्ने उद्देश्यले विद्यालयमा हक्की विस्तारको अभियानमा संघ क्रियाशिल रहेको बताइन् ।
प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । हक्की संघकै आयोजनामा दशरथ रंगशालामा पहिलो पटक हक्कीको प्रतियोगिता हुन लागेको हो।
