पोखरा । नेपाल भलिबल संघको १२औँ साधारण सभा पोखरामा सम्पन्न भएको छ ।
बिहीबार पोखराको लेकसाइडस्थित होटल पोखरा भिलेजमा सम्पन्न साधारण सभामा संघका महासचिव रोशन श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसअघि सो साधारण सभा गत भदौ २७ गते पोखरामा गर्ने गरी तय भएको भए पनि नेपालमा भएको जेन्जी आन्दोलनका कारण स्थगित गरिएको थियो ।
साधारण सभामा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, काभा (केन्द्रीय एसियाली भलिबल संघ) का अध्यक्ष मोहम्मद लातिफ, निवर्तमान अध्यक्ष मनोरञ्जन रमण शर्मा, संघका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य तथा सल्लाहकारहरूले आ–आफ्ना धारणा राखेका थिए ।

यस्तै, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठले संघको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने आगामी कार्ययोजनाका विषयमा पनि विस्तृत छलफल भएको थियो ।
साधारण सभामा विभागीय टोलीलाई भोटिङ अधिकार प्रदान गर्ने विषयमा समेत छलफल भएको अध्यक्ष चन्दले जानकारी दिए ।
नेपाल भलिबल संघलाई निरन्तर सहयोग पुर्याउँदै आएका पूर्व अध्यक्ष मनोरञ्जन रमण शर्मा र काभाका अध्यक्ष मोहम्मद लातिफलाई संघले सम्मानसमेत गरेको छ। उनीहरूलाई अभिनन्दन पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

महासचिव श्रेष्ठद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमा संघका आगामी कार्यक्रम तथा योजनासमेत समेटिएका थिए। जसअन्तर्गत ११औँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग, १०औँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप, भलिबल महोत्सव २०८२, ३५औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, २६औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता, राष्ट्रिय महिला तथा पुरुष बीच भलिबल च्याम्पियनसिप, पुरुष तथा महिला काभा कप, राष्ट्रिय प्रशिक्षक (कोच) तालिम, राष्ट्रिय रेफ्री तालिम, सातौँ एनभीए अवार्ड, पुरुष तथा महिला मैत्रीपूर्ण खेल, यू–१८ राष्ट्रिय छात्रा तथा छात्र भलिबल च्याम्पियनसिप, अन्तर–विद्यालय पुरुष तथा महिला भलिबल च्याम्पियनसिप तथा नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई एसियन गेम्समा सहभागी गराउने योजना उल्लेख गरिएको छ ।
