पोखरामा जारी छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधिका लागि न्यु डायमण्ड स्पोर्ट्स क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार सम्पन्न लिग चरणको अन्तिम खेलमा न्यु डायमण्डले पाहुना टोली थाइल्यान्ड क्विन्सलाई ३-० को सोझो सेटमा पराजित गरेपछि फाइनलमा पुग्ने टोलीको टुंगो लागेको हो ।
न्यु डायमण्डले खेल क्रमशः २५-२१, २५-२३ र २५-२० ले आफ्नो पक्षमा पार्यो । लिग चरणभर उत्कृष्ट प्रदर्शन गरेको न्यु डामयण्ड अपराजित रहँदै फाइनल पुग्ने एकमात्र टोली बनेको छ । चार खेल खेलेको न्यु डायमन्डले एक सेट पनि नगुमाई १२ अंक जोड्न सफल भयो ।
यो खेलमा डायमण्डको जितसँगै नेपाल पुलिस क्लबको फाइनल यात्रा पनि सुनिश्चित भएको हो । पुलिसले बुधबार नै भएको अर्को खेलमा विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
पुलिसले पहिलो सेट २५-१६, दोस्रो सेटमा २५-१३ र तेस्रो सेटमा २५-१९ को सहज को सहज जित निकालेको थियो । यस जितसँगै पुलिसले चार खेलबाट ७ अंक जोड्यो ।
यसअघि लिग चरणमै न्यु डायमण्ड र पुलिसबीच भएको भेटमा न्यु डायमण्डले पुलिसलाई ३-० ले हराएको थियो । थाइल्यान्ड क्विन्स भने चार खेलबाट ६ अंकमा सीमित रह्यो ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब भने एक खेल पनि जित्न नसकी लिग चरणबाटै बाहिरिएको छ । एपीएफ क्लबले चार खेलबाट ५ अंक जोड्दै तेस्रो स्थानका लागि थाइल्यान्ड क्विन्ससँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।
माघ १७ गतेसम्म सञ्चालन हुने यस च्याम्पियनसिपमा पुरुषतर्फ ६ तथा महिलातर्फ ५ टोलीको सहभागिता रहेको छ ।
आयोजकका अनुसार प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ विजेता टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ, उपविजेता टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ र तेस्रो स्थान हासिल गर्ने टोलीले १ लाख ६६ हजार ६६६ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २६ हजार ६६६ रुपैयाँ तथा विधागततर्फ उत्कृष्ट खेलाडीलाई ११ हजार ६६६ रुपैयाँ प्रदान गरिने छ ।
